सत्ता गठबन्धनबाट रामेछापको प्रदेश सभामा माओवादीबाट चौलागाई र श्रेष्ठ बने उम्मेदवार



२२ असोज, रामेछाप ।
सत्ता गठबन्धनबाट रामेछापको दुवै प्रदेशसभा निर्वाचनमा माओवादीले उम्मेवार टुंगो लगाएको छ । माओवादीको निर्णय अनुसार रामेछाप प्रदेश क मा संविधानसभा सदस्य तारानारायण श्रेष्ठ र प्रदेश ख मा माओवादीका पोलिटब्यूरो सदस्य युवराज चौलगाई उम्मेदवार बनेका छन् । श्रेष्ठ २०६४ सालको संविधानसभा निर्वाचनमा रामेछापको एक नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । गत स्थानीय तहको निर्वाचनमा मन्थली नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बनेका श्रेष्ठ पराजित भएका थिए । माओवादीले संविधान सभामा निर्वाचित उनलाई माओवादीले १५ बर्षपछि पुनः प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । हाल श्रेष्ठ नेकपा माओवादी केन्द्र रामेछाप समन्वय कमिटीका सचिव रहेका छन् ।

त्यसैगरी प्रदे्श ख मा टिकट पाएका माओवादीका पोलिटब्युरो सदस्य युवराज चौलागाई नयाँ अनुहार हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पनि टिकटको आकांक्षी रहे पनि अन्तिम समयमा आएर टिकट पाउनबाट बञ्चित भएका थिए । पार्टीले उनलाई यस पटक संघको टिकटको लागि सिफारिस गरेको थियो । तर संघको टिकट कांग्रेसको भागमा परेपछि अन्ततः चौलागाईले प्रदेश टिकट लिएका छन् । प्रदेशको टिकटको हिजो साँझ संविधानसभा सदस्य डिल्लीमान तामाङको नाम तय भएपनि अन्तिम समयमा आएर यस पटक चौलागाईले प्रदेशको टिकट लिन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्