रामेछापमा माओवादीभित्रको विवादः दिनभर वार्ता, कुरा नमिलेपछि प्रदेश कार्यालयलाई जिम्मा



२५ असोज, रामेछाप ।
नेकपा माओवादी केन्द्र रामेछापको विवाद बागी उम्मेदवारी दर्तादेखि माओवादी प्रदेश कार्यालयसम्म पुगेको छ । गठबन्धनको तर्फबाट रामेछापको प्रदेश ख मा युवराज चौलागाईले टिकट लिएर उम्मेदवारी दर्ता गरेपनि माओवादीका नेता एवं संविधानसभा सदस्य डिल्लीमान तामाङ बागी उम्मेदवारी दर्ता गरेका छन् । बागी उम्मेदवारी दर्ता गराएका तामाङको उम्मेदवारी फिर्ता गराउने बिषयमा जिल्ला तहमा सहमति हुन नसकेपछि विवाद माओवादीको प्रदेश कार्यालयसम्म पुगेको हो ।

बागी उम्मेदवारी फिर्ता गराउने विषयमा मंगलवार उम्मेदवारी दर्ता गराएका युवराज चौलागाई, बागी उम्मेदवारी दिएका डिल्लीमान तामाङसहित माओवादी रामेछापका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठसहितका नेताहरुबीच छलफल भएको थियो । छलफलमा सहमति जुटन नसकेपछि साँझ विवाद मिलाउने जिम्मेवारी माओवादी बागमती प्रदेश कमिटीका अध्यक्ष सरल सहयात्रीसहितका नेतालाई दिइएको छ ।

बैठकमा सहभागी एक नेताले रामेछाप न्युजलाई दिएको जानकारी अनुसार बागी उम्मेदवारीको बारेमा भोली बिहान १० बजेसम्म निर्णय आउने भएको छ । आज बसेको सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठकले पार्टीको तर्फबाट दिएको बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिदै फिर्ता नलिएको अवस्थामा पार्टीको साधारण सदस्यबाट पनि बर्खास्त गर्ने चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्