रामेछापका सिडियो रेग्मीको लोकप्रिय निर्णयः अब वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र बनाउन पाइने



१८ कात्तिक, रामेछाप ।
राष्ट्रिय परिचयपत्र वितरणलाई कामलाई सहज बनाउने उदेश्य अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले अब वडा तहबाटै राष्ट्रिय परिचयपत्र वितरणको काम अघि बढाउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउन सदरमुकाम मन्थली आउनु पर्ने बाँध्यतालाई हटाउदै जिप्रका रामेछापले यस्तो निर्णय गरेको हो ।

अबको एक हप्तापछि जिल्लाको १२ देखि १५ वटा वडा मार्फत परिचयपत्रको काम सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागका महानिर्देशक तीर्थराज भट्टराईले बताए । उनका अनुसार अहिले एउटा वडामा दुई वटा स्टेसन मार्फत नागरिकको विवरण प्रविष्ट गर्ने तयारी छ । एउटा स्टेसनबाट दैनिक कम्तीमा ४० जनाको विवरण प्रविष्ट हुन्छ, एउटा वडामा १० देखि १५ दिनमा विवरण प्रविष्ट गरिसक्नेगरी तयारी गरिएको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले नागरिकलाई सहज रूपमा राष्ट्रिय परिचयपत्र प्रदान गर्ने उद्देश्यले सम्बन्धित स्थानीय तहसँगको समन्वय र सहयोगमा वडा तहबाटै परिचयपत्रको काम गर्न लागिएको बताए । उनले यो अभियानलाई प्रभावकारी रूपमा सफल बनाउनुपर्ने आवश्यकता रहेको बताउदै आवश्यक सहयोग र समन्वय गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म रामेछापका २० हजार भन्दा बढी नागरिकले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराएका छन् । तर अहिलेसम्म एक जनाले पनि राष्ट्रिय परिचयपत्र पाउन सकेका छैनन् । परिचयपत्रका लागि आफ्नो विवरण प्रविष्ट गराउनकै लागि नागरिकहरूले ठुलो सास्ती भाग्दै आएका छन् ।

रामेछापमा २०७७ साउन १ गते बिहीबारबाट राष्ट्रिय परिचयपत्रका लागि स्थायी विवरण दर्ता कार्यको सुरु भएको थियो । नागरिकले परिचयपत्र बनाउन सास्ती पाउने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालय रामेछापले अब रामेछापको ६४ वटै वडा कार्यालयबाट सेवा प्रवाह गर्ने योजना अघि सारेको हो । यस योजना कार्यान्वयनमा आएपछि घण्टौ धाएर राष्ट्रिय परिचयपत्र बनाउनु पर्ने बाँध्यता हटनेछ ।

प्रतिक्रिया दिनुहोस्