रामेछापमा प्रतिनिधिसभा निर्वाचन जित्न ४५ हजार मत कटाउनु पर्ने (विवरणसहित)



१९ कात्तिक, रामेछाप ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरुले चुनावी अभियान तीब्र बनाएका छन् । घर घरमा पुग्नेदेखि ठूलो चुनावी सभा गर्ने कार्यलाई उम्मेदवारहरुले अभियानको रुपमा अघि बढाएका छन् । चुनावको मिति नजिकिदै जादा रामेछापमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरु आ–आफ्नो पक्षमा भोट माग्ने कार्यमा जुटेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार एउटा मात्र प्रतिनिधिसभा निर्वाचन रहेको रामेछापमा १ लाख ८० हजार, १०६ कुल मतदाता रहेका छन् । जस मध्य ८८ हजार ०३७ महिला र ९२ हजार ०६९ पुरुष रहेका छन् ।९६ वटा मतदान स्थल रहेको रामेछापमा २२६ वटा मतदान केन्द्र रहेका छ । १७ राजनीतिक दल र पाँच स्वतन्त्रसहित २२ जनाले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारहरुको समावेशी विवरण अनुसार ६८.१८ प्रतिशत जनजाति एव आदिवासी, २७.२७ प्रतिशत खस आर्य र ४.५५ प्रतिशत दलित रहेका छन् ।

रामेछापमा २२ जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्ता गठबन्धनका उम्मेदवार पूर्ण बहादुर तामाङ र एमालेका कैलाश ढुंगेलबीच नै चुनावी प्रतिस्पर्धा हुने भएको छ । जिल्लाभित्र रहेका १ लाख ८० हजार मतदाता मध्ये १ लाख देखि १ लाख पाँच हजारसम्म मत खस्ने पूर्व अनुमान गरिएको छ । जस मध्य केही मत बदर हुँदा एक लाख मत मध्य विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले लिने मत दस हजार आकलन गरिएको छ । रामेछापमा कान्छाराम र ढुंगेल मध्ये एकले चुनाव जित्नको लागि करिब ४५ हजार भन्दा बढी मत कटाउनु पर्नेछ । जसले सो मत कटाउन सक्छ उसैले नै चुनाव जित्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्