मंसिर २ गते नव अवतारी लामा रामेछापको शैलुङ्ग आउने



२० कात्तिक, रामेछाप ।
छेजु कुस्यो रेन्पोक्षेको नव अवतारी श्री क्याब्जे दोर्जी लोपेन क्लिने रेन्पोक्षे शैलुङ आउने भएका छन् । रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका–१ मा अवस्थित श्री टाशी नामगेल छ्‌योलिङ्ग शैलुङ्ग पंगेरी गुम्बाको आयोजनामा यही मंसिर २ गते विशेष पुजापाठ सहित छेवाङ अभिषेक प्रदान कार्यक्रममा सहभागी हुन रेन्पोक्षे शैलुङ आउन लागेका हुन् ।

उक्त कार्यक्रममा छेजु कुस्यो रेन्पोक्षेको नव अवतारी श्री क्याब्जे दोर्जी लोपेन क्लिने रेन्पोक्षे र साथमा भुटानको बरिष्ठ तान्त्रिक विद्या ज्ञान हाशिल गरेका रेन्पोक्षे श्री टुल्कु जिग्मे छ्योइङ नुर्बु समेतको उपस्थितीमा शैलुङ्गको पंगेरी गुम्बा नव निर्मित लामा पाठशाला समुदघाटन एवं शैलुङ्ग डाँडामा छेवाङ अभिषेक कार्यक्रम रहेको आयोजकले बताएको छ ।

नव अवतारी विगत छेजु कुस्यो रेन्पोक्षे नामले परिचित रहेका थिए । उनले स्वयम्भु किमडोल गुम्बामा बसेर यस शैलुङ्ग पंगेरी गुम्वा लगायत अन्य क्षेत्रमा भएको गुम्बाको समेत नेतृत्व एवं व्यवस्थापन गर्दै ८६ बर्षको उमेरमा २००२ मा उहाँको निधन भएको थियो भने २००५ मा पुन भुटानको एक बस्तीमा साधारण परिवारमा जन्म भै २०१० मा पुनः नव अवतारी घोषणा एवं पदभार ग्रहण गरेका थिए ।

शैलुङ्ग क्षेत्रमा प्रवेश गर्नु हुने विभिन्न विज्ञ धर्मगुरुहरुले महशुस गरे अनुसार अध्यात्मिक अदृष्य शक्तिले गर्ने असर एवं त्यसको उचित व्यवस्थापन गर्न जरुरत भएको योजना मुताविक भुटानको तान्त्रिक विद्याका बरिष्ठ गुरु रेन्पोक्षे श्री टुल्कु जिग्मे छ्योइङ्ग नुर्बु शैलुङ्ग विशेष पुजा पाठमा प्रवेश गराउने लक्ष्य राखिएको हो । शैलुङ्ग एवं यस क्षेत्रको समुदायमा राम्रो अवसर पनि हो । उनको पूजापाठले शैलुङ क्षेत्रमा हुने लाभ अन्य अदृष्य शक्तिले गर्ने एवं पुर्‍याउने असर समाप्त गरी समग्र प्राणी जगतमा शुभ हुने संकेत विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्