रामेछापको माटो र आवश्यकता मैले राम्रोसँग बुझेको छुः युवराज चौलागाई



युवराज चौलागाई बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट रामेछाप जिल्लाको प्रदेश सभा २ का साझा उम्मेदवार हुन् । २०३५ सालमा रामेछापको साविक गुन्सीभदौरे गाविस–३ स्वाँरा, हालको सुनापति गाउँपालिका–१ गुन्सी भदौरेमा जन्मिएका चौलागाई कक्षा ६ मा अध्ययन गर्दैगर्दा सानै उमेरमै अनेरास्ववियूबाट राजनीतिप्रति भएका थिए । २०४६ सालदेखि निरन्तर राजनीतिमा सक्रिय चौलागाई २०५० सालमा शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सी भदौरेका इकाई समितिको अध्यक्ष, २०५२ सालमा अनेरास्ववियूको जिल्ला समिति कोषाध्यक्ष बने भने २०५४ सालमा अनेरास्ववियू क्रान्तिकारीको काभ्रे जिल्ला अध्यक्ष बनेका थिए । जनयुद्धपूर्व नै माओवादी धारबाट उदाएका चौलागाई २०५४ सालपछि विद्यार्थी नेताको रुपमा शहरमा माओवादी आन्दोलनकामा लागेकै कारण २०५५ सालदेखि २ वर्ष जेलजीवन बिताएका थिए । २०५८ सालमा अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य बनेका उनी २०६० मा केन्द्रीय कोषाध्यक्ष, २०६४ मा केन्द्रीय उपाध्यक्ष समेत बने ।
त्यस्तै २०५८ मा तत्कालीन नेकपा माओवादी रामेछापका जिल्ला कमिटी सदस्य बनेका उनी २०५९ मा पार्टीको पूर्वाञ्चल क्षेत्रीय ब्यूरो सदस्य, २०६८ पछि विद्यार्थी संगठनबाट पुनः पार्टीको जिम्मेवारीमा फर्किएका उनी २०६९ सालमा पार्टीको केन्द्रीय समिति सदस्य बने । पार्टीको छैठौं र सातौँ महाधिवेशनबाट निर्वाचिन केन्द्रीय सदस्य बनेका उनी हाल नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य छन् । २०६९ सालदेखि २०७९ सालसम्म पार्टीको विदेश विभाग सचिव भएर काम गरेका चौलागाईले पार्टीको नेकपाकालिन समयमा ३ वर्ष प्रवास संगठनको अध्यक्ष समेत भए ।त्रिभुवन विश्व विद्यालयबाट ग्रामिण विकास र राजनीतिशास्त्रमा स्नातकोत्तर (एम.ए.) सम्म पढेका चौलागाई हाल रामेछाप प्रदेश ख बाट गठबन्धनको साझा उम्मेदवार रहेका छन् । प्रस्तुत छ उम्मेदवार चौलागाईसँग गरिएको कुराकानीः

युवराज चौलागाई रामेछाप प्रदेश सभा २ का उम्मेदवार

घरदैलो अभियानलाई कसरी अगाडि बढाइरहनु भएको छ ?
हामीले तीन तहको निर्वाचन अभियानका कार्यक्रमहरु संचालन गरेका छौं । संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान, प्रदेश र पालिका÷वडा स्तरीय निर्वाचन अभियान हामीले संचालन गरेका छौं । मेरो क्षेत्रमा प्रदेश स्तरीय निर्वाचन अभियान सम्पन्न भइसकेको छ, संघीय निर्वाचन क्षेत्र स्तरको निर्वाचन अभियान उत्तरार्धमा पुगेको छ । यो जारी छ । त्यस्तै पालिका स्तरीय, वडा स्तरीय अभियानहरु पनि जारी छ । जनताको घर दैलोमा पुगेका मतदाता शिक्षा दिने काम भइरहेको छ ।
अभियानमा जनपरिचालन गरिएको छ । गठबन्धनको राजनीति औचित्य पुष्टि गर्ने कामहरु गरेका छौं । जनतालाई प्रशिक्षित गर्ने काम गरेका छौं । जनताका गुनासाहरु सुन्ने, आफ्ना एजेण्डा प्रतिवद्धताहरु राख्ने काम गरेका छौं ।

जनतामाझ कस्ता एजेण्डाहरु लिएर जानुभएको छ ?
हामीले जनतामाझ मूलतः दुई वटा कुरा भनेका छौं । एउटा संसदको सदस्यले गर्ने विधायिकी कामको बारेमा । राम्रो कानुन बनाउने, सो कानुनलाई राम्रो संयन्त्रमार्फत कार्यान्वयन गर्ने । अनुगमन गर्ने, सरकारी संयन्त्रहरुलाई बलियो बनाउने । लोकतन्त्रको आधारको रुपमा लोकतान्त्रिक संस्था वा प्रजातान्त्रिक संस्थाहरुलाई बलियो बनाउने जस्ता कुराहरुमा हाम्रो भूमिका औसतभन्दा माथि नै हुने कुरा हामीले जनतामाझ प्रतिवद्धता जनाएका छौं ।
दोस्रोमा जनताका आवश्यकता पूर्ति गर्ने । विकास निर्माणका कार्यहरुको वाहकको रुपमा भूमिका निर्वाह गर्ने बताएका छौं । जसमा स्थान विशेष अनुसारका विषयहरु छन् । जनताको माग पूर्वाधारहरुको विकासमा बढी रहेको छ र मेरो निर्वाचन क्षेत्रमा हाम्रो आवश्यकता पनि त्यही देखिन्छ अहिले ।

रामेछाप प्रदेश ख निर्वाचन क्षेत्रका समस्या के हुन र त्यसको समाधान गर्न तपाईको प्रतिबद्धता छन ?
हामीले प्रतिवद्धता व्यक्त गरेका अधिकांश साझा कुरा भनेको सडक पूर्वाधारसँग सम्बन्धित छन् । जसमा नयाँ ट्र्याक खोल्ने कुरा कम छ, भएका सडकहरुको कालोपत्रे गर्ने कुरा बढी छ । सडकहरुको स्तरउन्नती गर्नेदेखि कालोपत्रे गर्नेसम्मका विषयहरु अलि बढी छन् । त्यसमा जिल्लाको रणनीतिक सडकहरुको पहिचान गर्ने कुरा एउटा चुनौति पनि देखिन्छ । जनताहरुले सबै सडकहरुमा एकै पटक कालोपत्रे गर्ने माग गर्नुभएको छ । त्यसमा रणनीतिक सडकहरुको छनौट गर्नुपर्ने स्थिती छ । हाम्रो सन्दर्भमा सिंगो जिल्लालाई पूर्व–पश्चिम जोड्ने सडक निर्माण गर्नुपर्ने छ । अर्काे रामेछाप भएर मध्य पहाडी लोकमार्ग जान्छ, यसलाई पालिकासम्म जोड्ने कुरा दोस्रो प्राथमिकतामा राखेका छौं । तेस्रोमा हामीले पर्यटकीय क्षेत्रहरुको पूर्वाधार विकास निर्माण गर्ने, शैलुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, जसमा सडक कालोपत्रे देखि प्याराग्लाइडिङ स्थापना गर्ने, वस्तीहरुलाई समेटेर त्यहाँ चक्रपथ निर्माण गर्ने लगायतका विषयहरुलाई प्राथमिकतामा राखेका छौं । कृषि क्षेत्रको आधुनिकरण गर्नुपर्ने आवश्यकता छ ।

शिक्षा, युवाको रोजगारी, वैदेशिक रोजगारी, खेलकुद, नेतृत्व विकासमा देखिएका विभिन्न समस्याहरुलाई पनि समाधान गर्नुछ । गाउँमा स्वास्थ्यगत पूर्वाधारहरु अत्यन्त कम छन् । भएकाहरुमा पनि विज्ञ डाक्टरहरु, राम्र स्वास्थ्यकर्मीहरु छैनन् । ल्याब लगायत टेक्निकल सपोर्टको कुराहरु छैनन् । सुविधानसम्पन्न अस्पताल पुग्नका लागि सडक तथा एम्बुलेन्सको सुविधा छैन । त्यसैले यि कुराहरुमा हामीले काम गर्नुछ । र, जनतालाई सेवा सुविधा दिनुछ । आगामी पाँच वर्षभित्र हामीले उल्लेख्य हदसम्म पूरा गर्ने र त्यसतर्फ अघि बढ्ने छौं । त्यस्तै यहाँ केही अल्पसंख्यक जातीहरु छन् । थामी, माझी, हेल्मो, हायू, पहरीलगायतका जातीहरुलाई राज्यको तर्फबाट विशेष राहत, उत्थानको प्याकेजका कार्यक्रमहरु ल्याएर उनीहरुको भाषा, संस्कृतिलगायत उनीहरुको समग्र विकासको कुरालाई अगाडि बढाउन जरुरी छ ।

चुनावको बेलामा सबैले विभिन्न एजेण्डाहरु बोकेर जनताको दैलोमा आउने र चुनाव जितेपछि पूरा गर्दैनन् भन्ने जनगुनासो छ, यसमा तपाई के भन्नुहुन्छ ?
यस विषयमा जनताको सबैभन्दा बढी चासो छ । जनताले कडा टिप्पणीहरु पनि गरिरहनु भएको छ । ‘चुनावअघि नेताहरु खुट्टा ढोग्न आउँछौ, हामीलाई विभिन्न सपना बाँड्छौ, पछि अनुहार पनि देखाउँदैनौ, हाम्रो बीचमा आउँदैनौ’ भन्ने जस्ता कडा टिप्पणीहरु मैले पनि सुनेको छु । हाम्रै अगाडि बसेर भन्ने गर्नुभएको छ उहाँहरुले । हामीले काम गर्न नसक्ने प्रतिवद्धता गरेका छैनौं । नहुने प्रतिवद्धता गर्नु पनि हुँदैन । हामीले जे गर्न सक्छौं, त्यो प्रतिवद्धता गर्ने हो । मैले जनतामाझ पनि भनेको छु, म जनताको सेवा गर्नलाई अत्यधिक प्रयत्न गर्नेछु, गर्दा गर्दै कही असफल भइएला । तर जनताले ‘तैले गर्न नै चाहिनस्’ भन्ने आरोप म आउन दिन्नँ ।

यस्ता प्रतिवद्धताहरु त प्रतिपक्षीहरुले पनि जनतामाझ बाँडेका होलान् । जनताले तपाईलाई विश्वास किन गर्ने र मत किन दिने ?
यो कुराको निर्णय गर्ने अधिकार हो । मलाई लाग्न उहाँहरुले मलाई नै मत दिनुहुन्छ । किनभने रामेछापको माटो, यहाँको आवश्यकता, यहाँको स्थिती मैले राम्रोसँग बुझेको छ । रामेछाप र देशकै परिवर्तनका लागि बीसौं वर्षदेखि म राजनीतिक अभियानमा सहभागी छु । पार्टीको केन्द्रीय नेतृत्वको तहमा छु । पढेको छु, देश–विदेशबाट अनुभवहरु लिएको छु, युवा हुँ, काम गर्ने जोश र जाँगर छ, लामो समय काम गर्न सक्ने उमेर अवस्था छ । पार्टीको उच्च राजनीतिक नेतृत्वसँग सिधा पहुँच र सम्पर्क, सहकार्य गर्न सक्छु । यसले गर्दा पनि जनताले मबाट निकै अपेक्षा गर्नुभएको छ र म त्यसलाई पूरा गर्न तत्पर पनि छु । मेरो प्रतिष्पर्धी भन्दा म राजनीतिक र अन्य विषयहरुले पनि एउटा अब्बल उम्मेदवार हुँ । त्यस्तै हाम्रो गठबन्धनका दलहरुको पनि साथ र सहयोग मिलेको छ । संविधानको रक्षा, स्थायित्व र देशलाई समृद्धितर्फ लैजान हामीले प्रयत्न गरेका छौं । यो कुरा जनताको हितमा छ । उहाँहरुले यो कुरा बुझ्नु भएको छ ।
६ महिना अगाडि सम्पन्न स्थानीय निर्वाचनको तथ्यांक हेर्ने हो भने हाम्रा निकटतम प्रतिद्वन्द्वी झण्डै १८ हजार मतले पछाडि हुनुहुन्थ्यो । त्यसैले यस पटक जित्ने उम्मेदवार युवराज चौलागाई नै हो । म त्यसमा विश्वस्त छु । मलाई माओवादी केन्द्र, नेपाली कांग्रेसलगायत नेकपा एमालेका केही असन्तुष्ट पक्षहरुले पनि मत दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्