रामेछाप प्रदेश ख मा चुनावः चौलागाई ढुक्क, घिसिङ आशावादी



२६ कात्तिक, रामेछाप ।
रामेछापमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावी अभियानको अन्तिम चरणमा रहेका दलहरु आ–आफ्नो हिसाब किताब गर्नमा जुटेका छन् ।

रामेछापको प्रदेश ख मा यस पटक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौलागाई र नेकपा एमालेका मिलन कुमार घिसिङबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसको साथ पाएकाले गठबन्धनका उम्मेदवार चौलागाई चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।

चुनावी घरदैलो र चुनावी सभा मार्फत गठबन्धनका उम्मेदवार चौलागाई उत्साहित भएका छन् । त्यसैगरी एमालेका उम्मेदवार घिसिङले पनि जिल्लामा आफूले लामो समय पार्टीसँगै एनजिओमा रहेर काम गरेको आधारमा जित्नेमा आशावादी देखिएका छन् ।
रामेछापको प्रदेश ख मा ९२ हजार ४७३ मतदाता रहेका छन् । जस मध्ये साठी हजार भन्दा बढी मत खस्ने पूर्व अनुमान गरिएको छ । चुनाव जित्नको लागि तीस हजार मत कटाउनु पर्नेछ ।

प्रदेश ख मा पर्ने चार वटा स्थानीय तह मध्य मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिका एमालेले जितेको छ । गत स्थानीय तहको निर्वाचनमा कांग्रेुस र माओवादीबीच गठबन्धन हुँदा पनि एमाले झिनो मतले मात्र पराजित भएको थियो । सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकामा नेतृत्व माओवादीले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्