निर्वाचनका लागि रामेछापमा २५ सय सुरक्षाकर्मी परिचालन हुने



२९ कात्तिक, रामेछाप ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रामेछापमा २५ सय भन्दा बढी सुरक्षाकर्मी परिचालित भएका छन् । जिल्लाको ९८ मतदान स्थल र २२६ मतदान केन्द्रको सुरक्षाको लागि म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालित भएका हुन् । पहिलो घेरामा म्यादी प्रहरी र नेपाली सेना, दोस्रो घेरामा शसस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले रामेछाप जिल्लामा निर्वाचनको सुरक्षाको लागि सबै तयारी पूरा गरिएको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्लाभित्र २५ सय सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ, आवश्यक सुरक्षाकर्मी ब्याकअपमा राखिएको छ ।’ जिल्लाको स्थलगत अनुगमन गरेर सुरक्षा रणनीति तयार पारिएको बताउदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्