बागी उम्मेदवारी दर्ता गराएका राउतले गरे कान्छारामलाई नै समर्थन



३० कात्तिक, रामेछाप ।
टिकट वितरणको निर्णयप्रति असन्तुष्टि जनाउदै रामेछापमा प्रतिनिधिसभामा नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार पूर्ण बहादुर तामाङ कान्छारामको विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका कांग्रेसका नेता चन्द्रबहादुर राउतले अन्नतः अन्तिम समयमा आएर कान्छारामलाई समर्थन गरेका छन् । गत असोज २३ गते स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस रामेछापका पूर्वसचीव चन्द्रबहादुर राउतले गठबन्धनका उम्मेदवार कान्छारामलाई नै समर्थन गरेका हुन् । उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा भोट समेत मागेका राउतले आफ्ना समर्थकलाई गठबन्धनका उम्मेदवार कान्छारामलाई नै मतदान गर्न एक विज्ञप्ती निकाल्दै अपिल गरेका छन् ।

बुधवार एक कार्यक्रमकोबीच कांग्रेस रामेछापका पदाधिकारीसहितको उपस्थितिमा कान्छाराम र राउतले हात मिलाउदै राउतले पार्टीलाई धोका दिन नसक्ने भएर उम्मेवदारी निस्क्रिय बनाएको बताए । उनले विज्ञप्तीमा भनेका छन,नेपाली कांग्रेसमा आफ्नो रगत पसिना बगाएको र आफू पार्टीको जिम्मेवार व्यक्ति हुँ अन्तिम घडीमा पार्टीलाई धोका दिन सक्दिन, पार्टी प्रतिको विमति कायम रहे पनि हाललाई म म्मेदवारी नरहेको र पूर्णबहादुर कान्छारामलाई समर्थन गरेको छु । राउतले निर्वाचन आयोगले आफूलाई प्रदान गरेको क्यामेरा चिन्हमा मतदान नगरी पार्टीको उम्मेदवारलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् । कार्यक्रममा कान्छारामले राउतलाई पार्टीले उचित स्थान दिने र सम्मान गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्