रामेछापमा प्रतिनिधिसभा निर्वाचनः गठबन्धन र एमालेबीच कडा टक्कर, ढुंगेल आशावादी, कान्छाराम उत्साहित



१ मंसिर, रामेछाप ।
यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने भएको छ । चुनावी अभियान सम्पन्न गरेर आजबाट गठबन्धन र एमालेका नेता कार्यकर्ताहरु चुनावको आन्तरिक रणनीति तय गर्न व्यस्त भएका छन् । जिल्लामा भएका मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित काठमाडौंबाट जिल्ला मतदाता ल्याउन योजनामा गठबन्धन र एमाले जुटेका छन् । यस पटकको निर्वाचनमा रामेछापमा करिब एक लाख मत खस्ने पूर्व अनुमान गरिएको छ । कुल १ लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा एक लाख मत खस्ने बताइएको छ ।

यसैबीच चुनावमा गठबन्धनका साझा उम्मेदवार पूर्णबहादुर तामाङ कान्छाराम र एमालेका उम्मेदवार कैलाश ढुंगेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । एमाले कुनै पनि हालतमा जित्नु पर्ने दबाबमा रहेको छ भने गठबन्धन चुनाव जित्नेमा ढुक्क देखिएको छ । गठबन्धनभित्र कांग्रेस र माओवादीबीचको विश्वास कति रहने भन्ने विषयले नै गठबन्धनको पक्षमा खस्ने भएको छ । यता एमाले भने आफूसँग भएको संगठित मत र कांग्रेस माओवादीबीच रहेको असन्तुष्ट समुहतको मत लिएर चुनाव जित्ने हिसाब निकालेको छ । स्थानीय तहको मतको आकलन गर्ने हो भने रामेछापमा पहिलो पार्टी कांग्रेस र तेस्रो पार्टी माओवादी हो ।

एमाले थोरै मात्र मतले दोस्रो दल हो । स्थानीय तहमा खसेको मतलाई आधार मान्ने हो भने कांग्रेस माओवादीको मत चुनावी जित्ने आधार देखिएको छ । तर नेकपा एकीकृत समाजवादीले पनि प्रदेश क मा उम्मेदवारी दिएकाले केही मत काटिने अनुमान गरिएको छ । एमालेले भने गठबन्धन भन्दा आफूहरु नै बलियो रहेको दावी प्रस्तुत गर्दै आएको छ ।

गठबन्धभित्र रहेका दलहरुको आपसी विश्वास र कार्यकर्ताको मनोविज्ञान कस्तो रहन्छ भन्ने विषयले गठबन्धनको पक्षमा खस्ने मतको आकलन हुनेछ । प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्नको लागि चालिस हजार मत कटाउनु पर्ने अनुमान गरिएको छ । चुनावी मोहोलबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेल चुनाव जित्नेमा आशावादी देखिएका छन भने गठबन्धनको भएकाले कान्छाराम चुनाव जित्नेमा ढुक्क देखिएका छन् ।यसको लागि परिणाम नै गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्