रामेछापमा बोलेरो जीप दुर्घटनामा घाइते वडा सदस्य सुनुवारको उपचारको क्रममा निधन



४ पुस, काठमाडौं ।
रामेछापको उमाकुण्ड–७ एकरातेमा बोलेरो गाडी दुर्घटनामा घाइते भएका लिखु तामाकोसी गाउँपालिका–१ का निर्वाचित वडा सदस्य बिमल सुनुवारको उपचारको क्रममा निधन भएको छ ।
आफैंले चलाएको बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका सुनुवारको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

गत शनिवार उमाकुण्ड गाउँपालिका भुजीमा आयोजित फुटबल प्रतियोगिता हेर्नका लागि दुरागाउँको होपिनाबाट जाने क्रममा उनले चलाएको बोलेरो भुजीको एकराते भन्ने स्थानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका वडा सदस्य सुनुवारसहित केही घाइतेलाई तत्कालै हेलिकोप्टर मार्फत उद्दार गरेर काठमाडौं ल्याएको थियो । वडा सदस्य सुनुवारको उपचाकार क्रममा आइतवार राती निधन भएको सोही वडाका वडाध्यक्ष प्रदिप तामाङले जानकारी दिए । एमालेबाट निर्वाचित ३९ वर्षीय वडा सदस्य सुनवारका श्रीमती र एक छोरा छन् । यसैबीच लिखु तामाकोशी गाउँपालिकाले वडा सदस्य सुनुवारको निधनमा शोक व्यक्त गर्दै पुस ५ गते गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरुबाट सेवा प्रवाह स्थगित गरिएको विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्