बेथान वीरता दिवस मनाइयो, शहीदको सपना पूरा गर्ने नेताहरुको बाचा



१९ पुस, रामेछाप ।
२०५३ पुस १९ गते तत्कालिन नेकपा माओवादीले बेथानमा रहेको प्रहरी चौकी कब्जा गरेको स्मृतिमा आज २७ औ वीरता दिवस मनाएको छ । तत्कालिन जनयुद्धको क्रममा माओवादीले सुनापति गाउँपालिका–४ बेथान स्थित पानीघाटमा रहेको प्रहरी चौकी कब्जा गरेको थियो । तत्कालिन युद्धमा माओवादीका तीन जना र नेपाल प्रहरीका दुई जनाले ज्यान गुमाएका थिए । माओवादीले चौकी कब्जा गरेको दिनलाई वीरता दिवसको रुपमा मनाउदै आएको छ । दोहोरो भिडन्तमा माओवादीका तिर्थ गौतम, फत्त बहादुर स्माली मगर र दिलमाया योञ्जनले वीरगती प्राप्त गरेका थिए ।
बेथान चौकी कब्जा गर्ने क्रममा शाहदत प्राप्त गरेका माओवादीका तीनै जनाको नाममा पानीघाटमा अर्धकदको शालिकको साथै पार्क समेत निर्माण गरेको छ ।
आज आयोजित स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माअ‍ोवादी बागमती प्रदेश कमिटीका इन्चार्ज एवं प्रतिनिधिसभा सांसद हित बहादुर तामाङ, नेकपा माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठ, रामेछाप प्रदेश ख का सांसद युवराज चौलागाई, संविधानसभा सदस्य डिल्लीमान तामाङ, सुनापति गाउँपालिकाका अध्यक्ष एवं माओवादी सुनापति गाउँ कमिटीका अध्यक्ष ठूलोकान्छा तामाङ, सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्ट, माओवादी सुनापति गाउँ कमिटीका उपाध्यक्ष बिबी तामाङ, सचिव होमराज खपाङी मगर लगायतका नेताहरुको सहभागीता रहेको थियो । स्मृति दिवस कार्यक्रममा सहभागी माओवादीका नेताहरुले शहीदले देखाएको सपना पूरा गर्ने अठोट सहित शहीदको शालिकमा माल्यअर्पण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्