रामेछापभित्र सञ्चालित सबै क्रसर उद्योग बन्द, अनुगमनपछि छिनोफानो हुने



२७ पुस, रामेछाप ।
रामेछाप जिल्लाभित्र अनुमति लिएर सञ्चालित सबै क्रसर उद्योग तत्कालका लागि बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले सबै क्रसर उद्योग बन्द गराएको हो । एक साता अघि बन्द गराएको क्रसर उद्योग एवं बालुवा प्रशोधन उद्योगको जिल्ला समन्वय समितिसहितको टोलीले अनुगमन गरेपछि मात्र सञ्चालन गर्न दिने वा बन्दलाई नै निरन्तरता दिने भन्ने टुंगो लाग्ने भएको छ  ।

रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले गृह मन्त्रालयको निर्देशन अनुसार हाललाई क्रसर उद्योग बन्द गराइएको रामेछाप न्युजलाई बताए । उनका अनुसार अनुमति लिएका उद्योगहरुको स्थलगत अनुगमन गरेर मापदण्ड पूरा गरेको अवस्थामा मात्र सञ्चालन गर्न दिइने बताए । मापदण्ड विपरीतका क्रसर उद्योग अब सञ्चालन हुँदैनन, रेग्मीले भने ।
रामेछाप जिल्लाभित्र विभिन्न ठाउँमा गरी हाल क्रसर र वालुवा प्रशोधन गरी २१ वटा उद्योग दर्ता गरिएको तथ्याङक रहेको छ । सदरमुकाम मन्थली, ठोसे र लुभुघाटमा रहेका उद्योग मात्र हाल सञ्चालनमा छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले क्रसर उद्योगको सञ्चालन गर्ने विषयमा जिल्ला समन्वय समितिका पदाधिकारीसहितको टोलीले अनुगमन गरेपछि मात्र खुल्ने वा बन्द हुने टुंगो लाग्ने बताए । उनले भने,‘भोलि जिल्ला समन्वय समितिको बैठक पनि बस्दैछ, बैठकले गर्ने निर्णय र स्थलगत अनुगमनपछि मात्र क्रसर उद्योगको विषयमा थप निर्णय होला ।’

प्रतिक्रिया दिनुहोस्