रामेछापमा जहाँ हराएर माया मारेको पैसा भेटिएपछि बस्नेतको आँखामा खुसीको आँशु



१० माघ, रामेछाप ।
हराएको पैसा पाउने आशा निकै कम मात्र हुन्छ । हराएको पैसा प्राप्त हुने अवसर कम व्यक्तिले मात्र प्राप्त गर्छन । तर रामेछापमा एक व्यक्तिले गाडी चढने क्रममा गाडीमा हराएको पैसा जस्ताको जस्तै हात पारेका छन् । ओखलढुङ्गाको चिउराडाँडाँबाट साङ्घुटार–देउराली हुँदै काठमाडौँको लागि छुटेको बा ५ ख ७३१५ नम्बरको बसमा यात्रुहरु खचाखच थिए । यिनै यात्रु मध्ये एक थिए रामेछाप नगरपालिका–२ देउरालीका ६९ वर्षीय ठमन्त बहादुर बस्नेत । जुन बसमा उनले आफ्नो साथमा रहेको उक्त पैसा हराएको पत्तै पाएनन । उनले दुःख गरेर बाख्रा विक्री बापत जम्मा भएको ५९ हजार पैसा सदरमुकाम मन्थलीस्थित बैंकमा जग्मा गए हिडेका थिए । तर अचानक उनले उक्त पैसा बसमै खसालेर मन्थली नगरपालिकाको भैशैश्वरमै ओर्लिए ।

उनी बसबाट ओर्लिर मन्थली बजारतर्फ लागे । यता गाडीमा यात्रुहरुले पैसा भेटाए । सोधखोज गर्ने क्रममा गाडीमा रहेको यात्रु कसैले पनि उक्त पैसा आफ्नो नभएको बताएपछि लगत्तै बसमा रहेका यात्रुहरुले पैसा भेटाएको खबर प्रहरीलाई दिएका थिए । प्रहरीले यात्रुले भेटाएको पैसा जिम्मा लिदै सम्बन्धित पैसा धनीको खोजी सुरु गरेको थियो । बसमा पैसा भेटिएको विषय केही क्षणमै सामाजिक सञ्जालमा राखिएको थियो । बाख्रा बेचेर बैंकमा पैसा जम्मा गर्न आएका बस्नेत भने पैसा हराएर निराश हुँदै पुनः घर फर्किएका थिए ।

पैसा भेटाएको विषय सामाजिक सञ्जालभरी फैलिएपछि वस्नेतको गाउँमा पनि फैलियो । त्यसपछि पैसा हराएर निराश र दुःखी भएका वस्नेत एकाएक हर्षित भए ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले बसमा यात्रुले भेटेको पैसा सबन्धित व्यक्तिलाई नै प्रहरीको फिर्ता दिइएको बताए । वस्नेतको नै पैसा भएको पुष्टि गरेर मात्र भेटाएको पैसा फिर्ता दिएको उनले बताए । ‘हराएको पैसा फिर्ता पाउने सम्भावना विरलै हुन्छ, वस्नेतले माया मारेको पैसा पुनः फिर्ता पाउन सफल भएको छ, बसमा यात्रारत यात्रुहरुले देखाउनु भावना निकै राम्रो हो ।’

सोमवार हराएको भेटाएको पैसा मंगलवार जिल्ला प्रहरी कार्यालय मन्थलीमा आयोजित एक कार्यक्रमको बीच सम्बन्धित धनीलाई नै फिर्ता दिइएको छ । पैसा पाएपछि वस्नेतको आँखामा खुसीको आँशु छछल्किएको थियो । वस्नेतले भने,‘म त पैसा हराएपछि होस हवास नै हराएको थियो, घर त पुगे तर मनमा निकै पीडा भएको थियो, रातभर निदाउन सकिने, बसमा भेटिएको पैसा प्रहरीसँग छ भन्ने खबर सुनेपछि खुसीको सीमा नै रहेन ।’ उनले पैसा भेटाएर प्रहरीलाई दिने सबै यात्रु र प्रहरीलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्