रामेछापमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या ७९ हजार पुग्यो



२ फागुन, रामेछाप ।
रामेछापमा जिल्लाभित्र राष्ट्रिय परिचयपत्र बनाउनेकोे संख्या ७९ हजार २३० पुगेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले जिल्ला प्रशासन कार्याल रामेछापको समन्वयमा अभियान सुरु गरेसँगै परिचयपत्र बनाउनेको संख्या ह्वातै बढेको हो । जिल्लाको आठ स्थानीय तह मध्य पाँच वटा स्थानीय तहका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्ने र फोटो खिचाएका छन भने बाँकी तीन वटा स्थानीय तहमा धमाधम वितरण संकलनको काम भइरहेको छ ।
जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, सुनापति गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकाका नागरिकले परिचयपत्रका लागि विवरण भराउने र फोटो खिचाउने काम सम्पन्न भइसकेको छ । लिखु तामाकोसी गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा पनि तीब्र गतिमा परिचपत्रको लागि फोटो खिचाउने काम भइरहेको छ । परिचयपत्रका लागि ३५ वटा टोलीले काम गरिरहेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको झण्डै तीन महिनाको अवधिमा मात्र ५४ हजार बढीले राष्ट्रिय परिचयपत्रको लागि फोटो खिचाएको बताए । उनले रामेछाप न्युजसँग भने,‘विगतमा जिल्ला प्रशासन कार्यालयबाट मात्र राष्ट्रिय परिचयपत्र वितरण हुने गरेको थियो, हामीले गाउँगाउँमै पुगेर सेवा दिन सुरु गरेमा नागरिक खुसी भएका छन, अबको एक महिनाभित्र जिल्लावासी सबैले परिचयपत्रका लागि फोटो खिचाउने काम सम्पन्न हुन्छ ।’
प्रजिअ रेग्मीका अनुसार अभियान सुरुपछि स्थानीय तहबाट ५४ हजार र जिल्ला प्रशासन कार्यालयबाट २४ हजारले परिचयपत्रका लागि फोटो खिचाएको बताए । उनका अनुसार परिचयपत्रका लागि रामेछापबाट करिब एक लाख व्यक्ति पुग्ने अनुमान गरिएको छ ।
परिचयपत्र बनाउन केन्द्रबाट खटिएर आएका टोलीले अभियान अन्तर्गत वडा तहमै पुगेर नागरिकको विवरण भर्ने, फोटो खिचाउने काम गरेका छन् ।
रामेछाप जिल्लामा चार बर्ष अघिबाट परिचयपत्रका लागि विवरण संकलनको काम सुरु भएको थियो । तर हालसम्म पनि विवरण भरेकाहरुले परिचयपत्र भने प्राप्त गर्न सकेका छैनन् । लामो समयसम्म सुस्त गतिमा अघि बढेको परिचयपत्र वितरणको कामले पनि अहिले जिल्लाभित्र गति लिएको छ । अबको एक महिनाभित्र विवरण संकलनको काम सम्पन्न भएपछि परिचयपत्र प्राप्त गर्न भने झण्डै एक बर्ष कुर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्