भोलिदेखि सप्ताहव्यापी त्रिपुरेश्वर माविको हीरक महोत्सव सुरु हुँदै



फागुन ४, रामेछाप। रामेछापको लिखु तामाकोशी गाउँपालिका वार्ड नं १ दुरागाउँमा अवस्थित जिल्लाको पूरानो मध्येको एक श्री त्रिपुरेश्वर माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ६३ औ बार्षिकोत्सव तथा हीरक महोत्सव मनाउन तयारी पूरा भएको जनाएको छ । वि सं २०१६ साल फाल्गुण ११ गते पण्डित टंकराज पौडेल तथा विष्णुहरि पौडेल र बाबुराम पौडेलको अग्रसरतामा स्थापना भएको उक्त विद्यालयले कोरोना भाइरसको महामारिका कारण तीन बर्ष ढिला गरि यहि फाल्गुण ५ गतेदेखि ११ गतेसम्म हीरक महोत्सव आयोजना गर्न लागेको हो ।

विद्यालयका प्रधानाध्यापक जय प्रसाद तिमिल्सिनाका अनुसार विद्यालयको हीरक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । उनका अनुसार महोत्सवका अवसरमा विद्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दैछ । उनका अनुसार विद्यालयले हीरक महोत्सवका अवसरमा स्मारिका प्रकाशन गरेको छ । गाउँपालिका स्तरीय अन्तर मा.वि. छात्र भलिबल प्रतियोगिता , गाउँपालिका स्तरीय अन्तर मा.वि. हाजिरी जवाफ प्रतियोगिता, वडा स्तरीय कक्षा ६-८ हाजिरी जवाफ, वडा स्तरीय कक्षा १-५ हाजिरी जवाफ प्रतियोगिता,अभिभावक खेल प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ ।

अन्य कार्यक्रमहरूमा विद्यालयलाई योगदान दिने व्यक्तिहरुको सम्मान कार्यक्रम , सम्मानित पुर्व विद्यार्थीहरुलाई सम्मान कार्यक्रम , विद्यालय स्मारिका प्रकाशन , हीरक जयन्ति स्मारक निर्माण , स्वागतद्वार निर्माणलगायत रहेका छन् । ‘सर्वसुलभ गुणस्तरीय शिक्षा , त्रिपुरेश्वर मा.वि. को प्रतिवद्धता श्री त्रिपुरेश्वर माध्यमिक विद्यालय हीरक महोत्सव सफल पारौँ’ भन्ने नाराका साथ सम्पन्न हुन गइरहेको महोत्सवमा ख्यातिप्राप्त कलाकारहरू द्वारा साँस्कृतिक कार्यक्रम स्थानीय जातजातीको साँस्कृतिक झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू हुने उनले जानकारि दिए ।

प्रतिक्रिया दिनुहोस्