पर्यटन प्रबद्र्धनका लागि  चैत्र  ४ गते रामेछापको सुनापतिबाट शैलुङ्गसम्म पहिलो ‘शैलुङ्ग म्याराथन’ हुँदै



२४ फागुन, रामेछाप ।
रामेछाप जिल्लाको पर्यटकीय गन्तव्यको प्रबद्र्धन गर्ने मुख्य उदेश्यको साथ पहिलो पटक शैलुङ्ग म्याराथन प्रतियोगिता हुने भएको छ । रामेछापका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यको प्रचार प्रसारका लागि पहिलो पटक सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीबाट सुनापति डाँडा गाल्वा, खाँडादेवी, अग्लेश्वर, दोरम्बा हुँदै शैलुङ्गसम्म ५५ किलोमिटर म्याराथन हुन लागेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङको पहलमा खेल पर्यटन मार्फत पर्यटकीय क्षेत्रको विकासका लागि म्याराथन हुने भएको हो । शैलुङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, जिल्ला खेलकुद विकास समिति रामेछापको व्यवस्थापन, सुनापती, खाँडादेवी र दोरम्बा शैलुङ गाउँपालिकाको सहकार्य र हिमालयन ट्रेल रनिङको प्रायोजकमा आगामी चैत्र ४ गते दौड प्रतियोगिता हुने भएको छ ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले रामेछाप जिल्लामा पहिलो पटक म्याराथन प्रतियोगिता गर्न लागेको बताउदै यसबाट थप पर्यटक भित्राएर जिल्लाको समग्र विकास निमार्णमा मद्दत पुग्ने विश्वास गरिएको बताए । घिसिङले रामेछाप न्युजसँग भने,‘खेकलुदको माध्यमबाट जिल्लाको विकासमा टेवा पुग्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो, यसबाट देशभित्र मात्र नभई विदेशमा पनि जिल्लाको पर्यटकीय गन्तव्यको प्रचार प्रसारमा सहयोग पुग्छ ।’


विभिन्न ३ विधामा सञ्चालन गर्न लागिएको खेलमा ५५ किलोमिटर, २५ किलोमिटर र ५ किलोमिटर दूरीका दौड हुने छन् । यी तीन वटै विधामा देशी तथा विदेशी महिला र पुरुष खेलाडीले सहभागिता जनाउन पाउने छन् । ५५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीले सुनापति गाउँपालिका–३ हिलेदेवीको सादीडाँडाबाट जिल्लाकै ऐतिहासिकस्थल खाँडादेवी मन्दिर हुँदै गाल्बा बजार–अग्लेश्वर दोरम्बा हुँदै शैलुङ डाँडासम्म पुग्नु पर्ने छ ।

त्यस्तै २५ किलो मिटर दौडमा सहभागी हुने खेलाडीहरूले सुनापतिको हिलेदेवी–गाल्बा–अग्लेश्वरी–दोरम्वा हुँदै शैलुङडाँडा पुग्नु पर्ने छ । ५ किलो मिटर दौड प्रतियोगितामा सहभागी हुने खेलाडीले दोरम्बाको शैलुङ क्षेत्रमा मात्रै दौडने भएका छन् ।
म्याराथनमा सहभागी खेलाडीहरू मध्ये ५५ किलोमिटरमा प्रथम हुने खेलाडीले नगद ७५ हजार द्वितीय हुने खेलाडीले ३५ हजार र तृतीय हुनेले नगद २० हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन् । २५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले प्रथम, द्वितीय र तृतीयले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद र प्रमाणपत्र पाउने छन् । ५ किलोमिटर म्याराथनमा प्रथम हुने खेलाडीले पनि प्रथम, द्वितीय र तृतीयले नगद १५ हजार,१० हजार र ५ हजार रुपैयाँ र प्रमाणपत्र हाँसिले गर्नेछन् ।

https://www.facebook.com/sailungultra/videos/1432211567183715

प्रतिक्रिया दिनुहोस्