रामेछापका विभिन्न जंगलमा लागेको आगो नियन्त्रणमा नेपाली सेनाको सक्रियता



१५ चैत्र, रामेछाप ।
रामेछाप जिल्लाको विभिन्न जंगल क्षेत्रमा आगलागी हुने क्रम बढेको छ । विगत चार दिनयता एक दर्जन भन्दा बढी स्थानमा आगलागीको घटना भएको छ । रामेछाप र मन्थली नगरपालिकाको विभिन्न जंगलमा लागेको आगो नियन्त्रमा जिल्लास्थित सुरक्षाकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । सुरक्षाकर्मी र स्थानीयको समन्वयको कारण धेरै ठाउँमा आगलागी भएपनि मानविय क्षति हुनबाट रोकिएको छ । केही स्थानमा अहिले पनि आगो अझै नियन्त्रणमा आउन सकिरहेको छैन् ।

जिल्लाभित्र हुने विपदको घटनामा विगतलदेखि नै सक्रिय रहदै आएको नेपाली सेनाले यस पटक पनि आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैै आएको छ । श्री नयाँ गोरख गण रामेछाप र सुरक्षा गुल्म मन्थलीबाट फायर फाइटिङ्गसहित खटिएको टोलीले वस्तीमा आगो आउन नदिने कार्यमा काम गरिरहेको छ । वस्तीमा आगो आउन नदिनका लागि फायर लेन बनाउने कार्यमा सक्रिय भएर लागेको छ ।

नेपाली सेनाले मन्थली नगरपालिका–२ स्थित टेकानपुर खलेडाडाका ध्रुब श्रेष्ठको प्रयोगमा नरहेको पुरानो घरमा लागेको आगलागी समेत गणबाट खट्टिएको फायर फाईटिङ्ग टोली, सशस्त्र प्रहरी,नेपाल प्रहरी तथा स्थानिय बासिन्दाहरुद्वारा नियन्त्रणमा लिन सफल भएको थियो ।

त्यसैगरी नेपाली सेनाले रामेछाप नगरपालिका–८ बोडेटार र रातमाटाको जंगलबाट सुरु भएको आगलागी श्री नयाँ गोरख गणबाट खटिएको फायर फाईटिङ्ग टिम खटिई डिभिजन बन कार्यलय नजिक आई पुगेको आगलागी नियन्त्रण गरेको र रामेछाप बजारतर्फ बढि रहेको आगलागी नियन्त्रणको लागि बजार तर्फको जंगलमा करिब ३०० मिटरको एन्टि फायर लाईन बनाए नयाँ गोरख गणका गणपति दिपक टण्डनले रामेछाप न्युजलाइ जानकारी दिनुभयो ।

उहाँले चैत्र १३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका–२ बस्ने रोज बहादुर तामाङ्गको गोठमा आगो बाल्ने क्रममा लागेको आगो नयाँ गोरख गण दोरम्बाबाट खट्टिएको फायर फायटिङ्ग टोलीले नियन्त्रणमा लिएको बताउनुभयो ।नेपाली सेनाले मन्थली नगरपालिका–८ चिसापानी स्थित जंगलमा लागेको आगलागी नियन्त्रण कार्यको लागि हिजो सुरक्षा गुल्म मन्थलीबाट फायर फाईटिङ्ग टोली खट्टिई आगलागीलाई गाउँबस्ती तर्फ बढ्न नदिन करिब ३०० मिटर फायर लेन निर्माण गरेको थियो ।

मन्थली नगरपालिका–५ माचबारीको छेरुवा खोला सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भएर माचाबारी स्थित ठुलोभिर बस्ने हुयम बहादुर मगरको लागेको आगो पनि सुरक्षा गुल्म मन्थलीबाट खट्टिएको फायर फाईटिङ्ग टोलीले नियन्त्रणमा लिन सफल भएको थियो । उक्त घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । गत बर्ष पनि जिल्लाको विभिन्न स्थानमा आगलागीको घटना हुँदा नेपाली सेनाले आगलागी नियन्त्रणको लागि नेतृत्वदायी भूमिका खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्