वनमा आगो लगाउने विरुद्ध सूचना दिनेलाई पुरस्कार दिने जिल्ला प्रशासन कार्यालय रामेछापको निर्णय



१५ चैत्र, रामेछाप ।
रामेछापका विभिन्न वन क्षेत्रमा श्रंखलाबद्ध रुपमा आगलागीको घटना बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले आगो लगाउने व्यक्तिको बारेमा सूचना दिन नागरिकलाई आग्रह गरेको छ । स्थानीय नागरिकको सहयोगले मात्र आगो लगाउने व्यक्तिको पहिचान गर्न सहज हुने निष्कर्ष निकाल्दै आगो लगाउने व्यक्तिको विरुद्ध सूचना दिन आग्रह गरेको छ । जिप्रका रामेछापले सूचना दिने व्यक्तिको नाम गोप्य राख्ने र पुरस्कार समेत दिने जनाएको छ ।
जिल्लाको एक दर्जन भन्दा बढी वनमा आगलागी भएसँगै आज जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आगलागी नियन्त्रणको लागि सबै मिलेर अघि बढनु पर्ने निर्णय गरेको छ ।
आगलागी नियन्त्रणका लागि जिल्लाभित्र नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय सरकार र स्थानीयवासीको सक्रियताकै कारण मानविय क्षति हुनबाट रोकिएको निष्कर्ष निकाल्दै बैठकले सामुदायिक वनका समितिहरुको भूमिका झन महत्वपूर्ण हुने बताएको छ ।
सहायक प्रमुख जिल्ला अधिकार अनोज कुमार घिमिरेले जिल्लाभित्रका बन क्षेत्रमा श्रंखलाबद्ध रुपमा आगलागी घटनालाई आफूहरुले गम्भीरतापूर्वक लिएको बताउदै आगो लगाउने व्यक्तिको समेत खोजी भइरहेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘घटना निकै शंकास्पद देखिन्छ, हामीले अहिले मानविय क्षति हुनबाट जोगाउने र आगलागी नियन्त्रणलाई केन्द्रमा राखेर काम गरिरहेको छौं ।’ घिमिरेले आगलागीको घटना भएपनि वस्तीमा आगलागी हुनबाट रोक्नको लागि जिल्लास्थित सुरक्षाकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नै आएको बताउनुुभयो ।

प्रतिक्रिया दिनुहोस्