पूर्व सैनिकलाई समाज विकासमा लाग्न प्रधान सेनापति शर्माको आग्रह



२१ चैत्र, रामेछाप ।
प्रधान सेनापति प्रभुराम शर्माले पूर्व सैनिकहरुलाई समाज विकासको महत्वपूर्ण कार्यमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले अवकाशप्राप्त जीवनयापनका क्रममा संगठनको संवेदनशीलता तथा यसको नीति, नियम र परिधिभित्र रही एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकको रुपमा आ–आफ्नो क्षेत्रबाट समाज विकासको लागि एक भरोसादार व्यक्तिको रुपमा आफूलाई स्थापित गर्न पूर्व सैनिकहरुलाई आग्रह गर्नुभएको हो ।
मंगलवार रामेछापको सदरमुकाम मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति शर्माले सैनिक कल्याणकारी कोषको रकम पारदर्शी रुपमा सदुपयोग गर्दै सिमित स्रोत साधनका बाबजुद शिक्षा, स्वास्थ्य, स्वरोजगार र सहुलियतमार्फत सम्पूर्ण हिताधिकारीहरुलाई सुविधा उपलब्ध गराउँदै आइरहेको बताउनुभयो ।

कल्याणकारी सेवा सुविधा विस्तारमा नेपाली सेना कटिवद्ध रहेको बताउदै उहाँले वीरगति प्राप्त सकलदर्जाका सन्तती र एकल महिलालाई नेपाली सेनाले सदैव महत्वका साथ हेर्दै आएको र यसको निरन्तरता स्वरुप देशका विभिन्न ६ स्थानमा एकल महिला स्वरोजगार केन्द्रहरु संचालन भईरहेको बताउनुभयो । शर्माले वीरगति प्राप्त सकलदर्जाका सन्ततीलाई नेपाली सेनाको भर्नामा प्राथमिकताका लागि प्रयत्‍नशील रहेको बताउनुभयो ।

सम्मेलनमा भूतपूर्व सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्यान्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ह्विलचियर हस्तान्तरणसहित अवकाश प्राप्त जेष्ठ सैनिकहरुसम्मान गरिएको थियो

प्रतिक्रिया दिनुहोस्