रामेछाप चिनाउने पुस्तक अब बजारमा



२४ चैत्र, काठमाडौं ।
पूर्व सांसद एवं नेकपा एकीकृत समाजवादी रामेछापका पोलिटब्यूरो सदस्य देवशकंर पौडेलद्धारा रामेछाप चिनाउने पुस्तक बजारमा आएको छ । रामेछापका गाउँबस्तीहरुमा पुस्तौंदेखि चल्दै आएका रीतिरिवाज र सुनिँदै भनिँदै आएका प्राचीन कहानीहरुलाई समेटेर तयार भएको पुस्तक बजारमा आएको हो ।
‘थातथलोका कथाहरु’ नाम दिइएको पुस्तकको शुक्रबार नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सार्वजनिक गर्दै परापूर्वदेखि चल्दै आएका प्रचलन र थातथलोहरुको बारेमा भावी पुस्तालाई जानकारी दिन यस्ता संकलन ऐतिहासिक दस्तावेज हुने बताए ।

रामेछाप जिल्लाका ६४ वटै वडामा रहेको अधिकाशं सबै टोल र बस्तीहरुमा पुग्ने एकमात्र नेताका रुपमा चिनिदै आएका पौडेलले राजनीतिक जीवनमा जिल्लाका अधिकाशं स्थानमा पुगेर पुराना कुराहरु उधिनेर नयाँ जानकारी संकलन गरेका थिए । पौडेलले पुस्तकमा विभिन्न गाउँमा पुग्दा त्यस समयका बुढापाकाहरुसँगको कुराकानी र खोज अनुसन्धानबाट प्राप्त भएका ऐतिहासिक जानकारीहरुलाई संकलन गरेर राखेका थिए ।

कतिपय जानकारी नयाँ पुस्ताको जानकारीका लागि उनले आफ्नो फेसबुक वालमा सार्वजनिक समेत गर्दै आएका थिए । पुस्तकमा विभिन्न गाउँ तथा टोलको नाम कसरी रहन गए भन्नेदेखि विभिन्न जातिहरुको उत्पत्ति र पलायनसम्मका जानकारी समेटिएको छ ।
लेखक पौडेलले भावी पुस्ताका लागि जानकारी होस् भनेर आफूले सकेसम्म सही जानकारीहरु समेटेर पुस्तकमा समावेश गरेको बताए । नेपाल एक्सप्लोर्स मिडिया प्रालिले प्रकाशन गरेको सो पुस्तकमा रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँको नाम कसरी रहन गयो भन्ने जानकारी बढी समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्