रामेछापकी प्रजिअ निरौलाले घरघरमै पुगेर सुरु गरिन नागरिकमैत्री सेवा



२५ चैत्र, रामेछाप ।
रामेछापमा नयाँ प्रमुख जिल्ला अधिकारी भएर आएकी अनिता निरौलाले नागरिकलाई सहज रुपमा सेवा दिने अभियान सुरु गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयबाट अझै प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता गर्दै उनले नागरिकलाई गाउँघरमै पुगेर सेवा दिने बताएकी हुन् । विभिन्न कारणले नागरिकताबाट बञ्चित भएका व्यक्तिहरुको पहिचान गरेर फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरिने नीति जिल्ला प्रशासन कार्यालय रामेछापले लिएको छ ।

शनिवार प्रजिअ निरौलाको नेतृत्वमा रामेछाप नगरपालिका–४ हिमगंगाका फरक क्षमता भएका र वृद्धालाई घरमै नागरिकता प्रदान गरिएको छ । फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारको घरमै पुगेर नागरिकता प्रदान गरिएको हो । नागरिकता नहुँदा सुनुवारले सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित हुँदै आएकी छिन् । नागरिकता प्राप्त गरेसँगै अब सुनुवारले सामाजिक सुरक्षा भत्ता पाउने भएकी छिन् ।

प्रजिअ निरौलाले आफू रामेछापवासी नागरिकको सेवा गर्न रामेछाप आएको बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘म नागरिकको सेवा गर्न आएको हुँ, सहज रुपमा नागरिकले सेवा सुविधा पाउनु पर्छ , विगत लामो समयदेखि नागरिकताबाट बञ्चित भएका दुई जना नागरिकलाई आज घरमै पुगेर नागरिकता प्रदान गरेका छौं ।’ उनले जिल्लाका अन्य पालिका तथा वडाहरुमा अशक्त तथा आपाङ्गता भएका व्यक्ति भए, घरमै गएर सेवा प्रदान गर्ने बताउँदै त्यस्ता व्यक्ति बारे जानकारी दिन आग्रह गरेकी छिन् ।

रामेछाप नगरपालिकाका नगर उपप्रमुख बाल कुमारी कार्कीले लामो समयको प्रयासपछि फरक क्षमता भएका नगरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई नागरिकता दिलाउन सफल भएको जानकारी दिइन । उनले नागरिकता प्राप्त गरेका माझी र सुनुवारलाई सामाजिक सुरक्षा भत्ता दिलाउन तत्कालै प्रक्रिया अघि बढाउने बताइन । जिल्ला प्रशासन कार्यालय रामेछापले विगतमा घुम्ती शिविर मार्फत पनि गाउँगाउँमा नागरिकता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्