नक्कली बुबा आमा बनाएर जिप्रका रामेछापबाट नागरिकता लिएको खुलासा, वडाअध्यक्ष दिए खारेजीको उजुरी



८ वैशाख, रामेछाप ।
जिल्ला प्रशासन कार्यालय रामेछापबाट नक्कली आमा बुबा खडा गरेर एक व्यक्तिले अनाधिकृत रुपमा नागरिकता लिएको खुलासा भएको छ । मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको खुलासा भएको हो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडासचिव श्यामकिशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए ।

सोही जन्म दर्ताको आधारमा वडाअध्यक्ष भुवनहरि प्रसाईले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गरेका थिए । वडाको सिफारिसमा नक्कली छोरीले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९।१२।३० मा २१–०१–७९–०७४०२ नम्बरको नागरिकता समेत लिइसकेकी छिन् ।

वास्तविक ठेगाना र पहिचान नखुलेको व्यक्तिलाई वडा कार्यालयबाट जन्म दर्ता र नागरिकता प्रदान गर्न वडा कार्यालयबाट सिफारिस भएको विषयमाथि छानबिन हुनुपर्ने माग गर्दै मन्थली नगरपालिका–७ का श्यामलाल तामाङले साे घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराएका छन् ।

नक्कली छोरी बनेर नागरिकता लिएको रहस्य बाहिरिएसँगै वडाअध्यक्ष भुवनहरि प्रसाईले स्यमले पनि उक्त नागरिकता खारेज गरी पाउ भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा अर्को उजुरी दर्ता गराएका छन् । उनले वडा कार्यालयलाई फसाउने उदेश्यले नक्कली छोरी खडा गरेर जन्म दर्ता र सिफारिस लगिएको बताउदै वडा कार्यालयको कुनै पनि गलत नियत नरहेकाले सो नागरिकता लिने व्यक्तिको नागरिकता खारेज गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

वडाअध्यक्ष प्रसाईले जन्म दर्ताको आधारमा नागरिकता लिने व्यक्तिलाई नागरिकताको लागि सिफारिस गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘गलत नियत राखेर वडा कार्यालयबाट कुनै सिफारिस भएको होइन, जन्म दर्ताको आधारमा मैले नागरिकताको लागि सिफारिस दिएको हुँ, कुरा बुझदै जादा नक्कली छोरी भएको पत्ता लागेपछि मैले सो नागरिकता खारजीको लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन दिएको छु ।’ वडाका नागरिकको पहिचान नगरि सिफारिस दिनु पर्ने होइन र ? भन्ने जिज्ञासामा प्रसाईले थपे,‘नागरिकता दिलाउने अभिभावकले स्यमं मेरो छोरी हो भनेर सनाखत गरेर आएपछि हामीले तिम्रो छोरी होइन भनेर शंका गर्ने विषय पनि भएन, हामीले प्रमाण हेर्ने हो, अभिभावकले नै झुक्याउने काम गरे,हामीले सबैलाई चिन्छौ भन्ने भएन, प्राप्त कागतजात र प्रमाणको आधारमा सिफारिस दिएका हौ, यस्तो गर्लान भन्ने सोचिएन ।’ नागरिकताको लागि सिफारिस दिए पनि आफू र वडा सचिवको गलत नियत नभएको दावी गरे ।

वडाअध्यक्ष प्रसाईले निवेदन दिएसँगै जिल्ला प्रसासन कार्यालय रामेछापले अनुसन्धान प्रक्रिया अघि बढाएको छ । वडाअध्यक्ष प्रसाईले नै नक्कली आमा बुबा खडा गरेर अनाधिकृत व्यक्तिलाई नागरिकता दिएको विषयमाथि अनुसन्धान सुरु गरेको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले रामेछाप न्युजलाई बताए । उनले भने,‘वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालय रामेछापबाट नागरिकता जारी भएको हो, अनाधिकृत व्यक्तिले नागरिकता लिएको विषयमा छानबिन गर्दैछौं ।’

प्रतिक्रिया दिनुहोस्