रामेछाप अनाधिकृत नागरिकता प्रकरणः नक्कली बुबा आमा र छोरीसँग भोलि बयान लिइने



११ वैशाख, रामेछाप ।
नक्कली आमा बुबा खडा गरेर अनाधिकृत रुपमा नागरिकता दिलाउने र लिनेमाथि जिल्ला प्रशासन कार्यालय रामेछापले छानबिन सुरु गरेको छ । अनाधिकृत रुपमा एक महिलाले नक्कली आमा बुबा खडा गरेर नागरिकता लिएको खुलासा भएपछि मन्थली नगरपालिका–७ भटौलीका वडा अध्यक्ष भुवनहरि प्रसाई स्वयंमले जिप्रका रामेछापमा उक्त नागरिकता खारेजीको लागि निवेदन दर्ता गराएका छन् । सो बमोजिम जिप्रका रामेछापले अनाधिकृत रुपमा नागरिकता लिने व्यक्ति नक्कली आमा बुबा, वडाअध्यक्ष र वडासचिवमाथि अनुसन्धान अघि बढाएको हो । मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको घटना खुलासा भएको थियो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडासचिव श्यामकिशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए ।

सोही जन्म दर्ताको आधारमा वडाअध्यक्ष भुवनहरि प्रसाईले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गरेका थिए । वडाको सिफारिसमा नक्कली छोरीले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९।१२।३० मा २१–०१–७९–०७४०२ नम्बरको नागरिकता समेत लिइसकेकी छिन् ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले अनाधिकृत रुपमा नागरिकता लिएको विषयमा अनुसन्धान भइरहेको रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले अनुसन्धान गरिरहेका छौ, भोलि नक्कली आमा बुबा बन्ने र नक्कली छोरी बनेर नागरिकता लिनेलाई सोधपुछको लागि बोलाएका छौं ।’ जिल्ला प्रशासन कार्यालयले अनाधिकृत नागरिकता दिलाउन लाग्ने व्यक्तिलाई उपस्थित गराउनका लागि जिल्ला प्रहरी कार्यालय रामेछापलाई पत्राचार समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्