मन्थलीमा गुणस्तरहीन दुध बेच्ने तीन डेरी उद्योगलाई १५/१५ हजार जरिवाना



१७ वैशाख, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा गुणस्तरहीन दुध बेच्ने तीन डेरी उद्योगलाई जिल्ला प्रशासन कार्यालय रामेछापले कारवाही गरेको छ । जिप्रका रामेछापले डेरी उद्योगीकोसमेत सहभागीतामा दुध विक्री वितरण गर्न अपनाउनु पर्ने मापदण्ड जारी गरेको थियो ।

तर अनुमनको क्रममा दुध विक्री गर्दा मापदण्ड पालना नगरेको पाइएपछि जिप्रका रामेछापले चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरी उद्योगलाई १५ हजार रुपैयाँ जरिवाना गरेको हो । तीन डेरीबाट विक्री वितरण हुँदै आएको दुधको स्याम्पल लिएर परीक्षण ल्याबमा परीक्षण गरिएको थियो । परीक्षण गरिएको गाईको दुधको फ्याटको प्रतिशत पालना गर्नुपर्ने दुधको गुणस्तर मापदण्ड अनुरुप नपाइएकाले कानुन अनुसार १५ हजार जरिवाना गरिएको छ ।
रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको नेतृत्वमा पहिलो पटक जिल्लामा दुध विक्री वितरण गर्नका लागि मापदण्ड लागू भएको थियो । यस निर्णयसँगै उपभोक्ताले गुणस्तरीय दुध सेवन गर्न पाउने भएका छन् । नागरिकको स्वास्थ्यलाई ध्यान दिदै जिल्लामै पहिलो पटक दुधको गुणस्तर र मापदण्ड तय गरेर कार्यान्वयनमा ल्याएएको रामेछापका सहायक प्रजिअ घिमिरेले रामेछाप न्युजलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्