अनाधिकृत नागरिकता प्रकरणः जिप्रका रामेछापद्धारा नागरिकता जफत



१७ वैशाख, रामेछाप ।
नक्कली आमा बुबा खडा गरेर अनाधिकृत रुपमा एक महिलाले लिएको नागरिकता जिल्ला प्रशासन कार्यालय रामेछापले जफत गरेको छ । अनाधिकृत रुपमा नागरिता लिएको विषय सार्वजनिक भएपछि मन्थली नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनहरि प्रसाईले उक्त नागरिकता खारेजी गर्न माग गर्दै जिप्रका रामेछापमा उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा जिप्रका रामेछापले नागरिकता लिने र दिलाउन सहयोग गर्ने व्यक्तिहरुसँग बयान लिने काम समेत सम्पन्न गरेको छ ।

मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको खुलासा भएको थियो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडासचिव श्यामकिशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए । सोही जन्म दर्ताको आधारमा वडाअध्यक्ष भुवनहरि प्रसाईले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गरेका थिए । वडाको सिफारिसमा नक्कली छोरीले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९।१२।३० मा २१–०१–७९–०७४०२ नम्बरको नागरिकता लिएकी थिए ।

वास्तविक ठेगाना र पहिचान नखुलेको व्यक्तिलाई वडा कार्यालयबाट जन्म दर्ता र नागरिकता प्रदान गर्न वडा कार्यालयबाट सिफारिस भएको विषयमाथि छानबिन हुनुपर्ने माग गर्दै मन्थली नगरपालिका–७ का श्यामलाल तामाङले सो घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्न जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराएको थियो । जिप्रका रामेछापले नक्कली आमा बुबा, नक्कली छोरी, नागरिकता दिलाउन सहयोगी भूमिका गाउँकै दुई युवा, वडाअध्यक्ष र वडासचिवसँग बयान लिने काम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्