रामेछापमा नक्कली आमा बुबा खडा गरेर लिएको नागरिकता खारेज, नागरिकता लिने र दिलाउने अनुसन्धानकाे घेरामा



२५ वैशाख, रामेछाप ।

नक्कली आमा बुबा खडा गरेर अनाधिकृत रुपमा नागरिकता लिने व्यक्तिको नागरिकता खारेज भएको छ । अनाधिकृत नागरिकता लिएको प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी परेसँगै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले उक्त नागरिकता खारेज गरेकी हुन् । अनाधिकृत रुपमा एक महिलाले नक्कली आमा बुबा खडा गरेर नागरिकता लिएको खुलासा भएपछि मन्थली नगरपालिका–७ भटौलीका वडा अध्यक्ष भुवनहरि प्रसाई स्वयंमले जिप्रका रामेछापमा उक्त नागरिकता खारेजीको लागि निवेदन दर्ता गराएका छन् ।

सो बमोजिम जिप्रका रामेछापले अनाधिकृत रुपमा नागरिकता लिने व्यक्ति नक्कली आमा बुबा, वडाअध्यक्ष र वडासचिवमाथि अनुसन्धान गरेर सो नागरिकता जफत गरेको थियो । मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङले सुजु थोकरलाई नक्कली छोरी बनाएर नागरिकता दिलाएको घटना खुलासा भएको थियो । नक्कली छोरीलाई नागरिकता दिलाउनका लागि वडासचिव श्यामकिशोर साहले जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए ।

सोही जन्म दर्ताको आधारमा वडाअध्यक्ष भुवनहरि प्रसाईले नक्कली छोरी बनाइएकी सुजु थोकरलाई नागरिकता प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय रामेछापमा सिफारिस गरेका थिए । वडाको सिफारिसमा नक्कली छोरीले जिल्ला प्रशासन कार्यालय रामेछापबाट २०७९।१२।३० मा २१–०१–७९–०७४०२ नम्बरको नागरिकता समेत लिइसकेकी छिन् ।

जिप्रका रामेछापले अनुसन्धान मार्फत प्राप्त प्रमाणलाई आधारमा वैशाख २० गते रामेछापका प्रजिअ अनिता निरौलाले अनाधिकृत नागरिकता रद्द गर्ने निर्णय गरेकी हुन् । जिप्रकाले अनाधिकृत नागरिकता रद्द गर्दै गलत मनासायले नागरिकता लिने र दिलाउने व्यक्तिहरुमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रामेछापलाई पत्राचार गरेको छ । रामेछाप न्युजलाई प्राप्त जानकारी अनुसार आजबाट प्रहरीले किर्ते अभियोगमा अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्