नक्कली भुटानी शरणार्थी प्रकरणः रामेछापका पूर्व सांसद आङवाटा शेर्पा पनि फरार, खोज्दै प्रहरी



३० वैशाख, काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीब्र बनाएसँगै नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा पनि फरार भएका छन् । अहिले हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण र बिचौलियाहरूबीच उनले मध्यस्थकर्ताको भूमिका खेलेका विषय बाहिर आएको थियो । बुधबार खाण पक्राउ परेलगत्तै मैजुबहालस्थित घरमा ताला लगाएर शेर्पा फरार भएको स्रोतको दावी छ ।

स्रोतका अनुसार उनको घरमा केही प्रमाण भेटिन सक्ने भएकाले बिहीबार प्रहरीले ताला फुटाएर खानतलासी गरेको थियो । घरमा कोही पनि नभेटिएको र त्यससम्बन्धी विवरण पनि केही बरामद हुन सकेको छै्न् । अमेरिका पठाइदिने भनेर बिचौलियाहरूसँग पैसा लेनदेनमा शेर्पाको पनि भूमिका रहेको सूचना प्रहरीले राखेको छ । चैतको दोस्रो साता ठगीमा संलग्न केही बिचौलिया पक्राउ परेलगत्तै खाणको प्रतिनिधि बनेर शेर्पा १८ चैतमा अभियुक्तलाई भेट्न प्रहरी कार्यालय पुगेका अपराध अनुसन्धान महाशाखाका एक प्रहरी अधिकृतले रामेछाप न्युजलाई जानकारी दिए ।

पैसा फिर्ता गराइदिने आश्वासन दिँदै उनले बयानमा खाणको नाम नपोल्न प्रस्ताव गरेका थिए । एक–दुई दिनमै केही रकम फिर्तासमेत गरिएको सूचना प्रहरीले पाएको छ । यो विषय बलियो प्रमाण हुने भएकाले प्रहरीले शेर्पाको खोजी गरिरहेको छ । उच्चपदस्थमाथि प्रहरी छानबिन केन्द्रित भएलगत्तै शेर्पालाई योजनाबद्ध रूपमै भूमिगत बनाइएको स्रोतको दावी छ । रामेछापका कांग्रेसका नेता शेर्पा २०७० मा कांग्रेसका तर्फबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनी निर्माण व्यवसायी समेत हुनु ।

प्रतिक्रिया दिनुहोस्