५ करोड ६३ लाख लगानीमा एमाले रामेछापको पार्टी कार्यालय बन्दै



१ जेठ, रामेछाप ।
नेकपा एमाले रामेछापले आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्ने भएको छ । सदरमुकाम मन्थलीमा निर्माण हुन लागेको पार्टी कार्यालयको भवनको यही जेठ ३ गते  शिलान्यास हुने भएको छ । पार्टी कार्यालय लामो समयदेखि भाडाको घरमा सञ्चालन गर्दा बर्षेनी भाडा तिनु पर्ने भन्दै एमालेले आफ्नै पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । पार्टी कार्यालयको शिलान्यास पार्टीका उप–महासचिव विष्णु रिमालले गर्ने कार्यक्रम तय भएको छ ।

मन्थलीको आकाशेमा मदन–आश्रित स्मृति भवनको नाममा रहेको जग्गामा चार तले आधुनिक र सुविधा सम्पन्न पार्टी कार्यालय बन्न लागेको हो । नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले ५ करोड ६३ लाख लगानीमा पार्टी कार्यालय निर्माण गर्न लागिएको रामेछाप न्युजलाई जानकारी दिए । उनका अनुसार पार्टी कार्यालय निर्माण गर्नका लागि हाल तीस लाख रुपैयाँ पार्टीसँग रहेको छ । मदन आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालयको भवन शिलान्यास गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्