१८ करोड लगानीमा बन्यो रामेछाप जिल्लाकै ठूलो मन्थली माविको विद्यालय भवन



१ जेठ, रामेछाप ।
रामेछाप जिल्लाकै नमूना विद्यालय मन्थली माविको नवनिर्मित ३६ कोठे विद्यालय भवन सञ्चालनमा आएको छ । एसियाली विकास बैंकको १८ करोड ऋण सहयोगमा निर्माण गरिएको जिल्लाकै ठूलो विद्यालय हो । वि.सं. २०७२ सालको भुकम्पको कारण विद्यालयको भवन भत्किएपछि सरकारले मन्थली माविको लागि नयाँ भवन निर्माणको काम अघि बढाएको थियो । तीन वटा ब्लकमा गरी हाल ३६ कोठाको विद्यालय सञ्चालनमा आएको छ ।

शिसुदेखि कक्षा ८ सम्मका विद्यार्थीहरु हाल आधुनिक र सुविधा सम्पन्न विद्यालयमा पठनपाठन गर्न सुरु गरेका छन् । विद्यालयको भवनसँग करिब २ सय जना अटाउने सभाहल, विद्यार्थी र शिक्षकको लागि आवश्यक पर्ने शौचालय र विद्यालय परिसरभित्र वृक्षारोपणसँगै आकर्षक बगैचा समेत निर्माण गरिएको छ ।

करिब २० रोपनी क्षेत्रफलमा निर्माण गरिएको विद्यालयमा निकै सुविधा सम्पन्न रुपमा निर्माण गरिएको छ । मन्थली माविमा हाल २१ सय ७३ विद्यार्थी १२ जना विद्यार्थी अध्ययनरत रहेको मन्थली माविका प्रअ टंक प्रसाद दाहालले रामेछाप न्युजलाई जानकारी दिए । विद्यालय भवन निर्माण हुनु आफूहरुको लागि ठूलो खुसीको विषय भएको बताउदै दाहालले क्यान्टिन, खेलमैदान र होस्टल भवनको आवश्यकता रहेको बताए ।

नयाँ भवन निमाण गरेको खानी निर्माण सेवाले नै हाल मन्थली माविको ९ वटा पुराना भवनको प्रवलिकरण गरिरहेको छ । यसैबीच आज नवनिर्मित विद्यालय भवनको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा बागमती सांसदत्रय तारानारायण श्रेष्ठ, युवराज चौलागाई र आनन्द श्रेष्ठ, मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्