रामेछाप–काभ्रेको सीमानामा सुनकोसी–३ जलविद्युत आयोजना बन्ने भाे, नेपाल र बंगलादेश सरकारबीच ६ महिनाभित्र हस्ताक्षर हुने



३ जेठ, रामेछाप ।
रामेछाप र काभ्रे जिल्लाको सीमाना लुभुघाटमा बन्ने ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनामा बन्ने करिब निश्चित भएको छ । सो आयोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा निर्माण हुने निर्णय भएको हो । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दूबै देशबीच हस्ताक्षर गर्ने निर्णय गरेको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर हुने बताए । । सुनकोशी–३ आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ । यसबाट वाषिर्क २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
यसअघि २०७९ भदौमा बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीले आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो । अवलोकन भ्रमणपछि रामेछापको खाँडादेवी गाउँपालिकास्थित लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले सुनकोशी–३ जलविद्युत आयोजना अघि बढाउन बंगलादेश इच्छुक रहेको बताएका थिए ।

विपी राजमार्गको नेपालथोकबाट १ किलोमिटर दूरीमा रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलनेछ । सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।

ईआईए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन् । आयोजना निर्माण हुँदा ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ । डुबान क्षेत्रमा पर्ने जमिनमध्ये ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६५५ हेक्टर वन क्षेत्र पर्छ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने अनुमान छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुनकोसी तेस्रो जलविद्युत आयोजना निर्माण गर्न नेपाल र बंगलादेशबीच ६ महिनाभित्र हस्ताक्षर हुने कार्यतालिका तय भएको रामेछाप न्युजलाई बताए । उनका अनुसार यस आयोजना निर्माण मार्फत देशलाई ठूलो फाइदा हुने हुनेछ । आयोजनाको डिजाइन, ईआईए अध्ययन लगागतको काम सम्पन्न गरेर सरकारले यस आयोजनालाई निर्माण गर्न यसअघि विभिन्न चरणमा बंगलादेश सरकारसँग छलफल गर्दै आएको थियो । आयोजना निर्माणमा चासो दिएको बंगलादेश सरकारले अन्नतः सुनकोसी–३ जलविद्युत आयोजनामा लगानी गर्ने निश्चित भएको छ । यस आयोजना अघि बढने भएसँगै रामेछाप र काभ्रेका प्रभावित क्षेत्रका नागरिक खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्