रामेछापमा लक्ष्मी आयल स्टोरको बदमासीः जिल्ला प्रशासन कार्यालयद्धारा २ लाख जरिवाना



८ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा सञ्चालित लक्ष्मी आयल स्टोरले सरकारले तोकेको मुल्य भन्दा बढी मुल्य लिएर कालोबजारी गरेको तथ्य फेला पारेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले २ लाख जरिवाना गरेको छ । विगतदेखि नै कृत्रिम अभाव सृजना गर्दै उपभोक्तालाई सास्ती दिदै आएको लक्ष्मी आयल स्टोरलाई जिप्रका रामेछापले पहिलो पटक २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
उद्योग वाणिज्य संघ रामेछापका निवर्तमान अध्यक्ष केशव प्रसाद घिमिरेले सञ्चालन गर्दै आएको पेट्रोल पम्पमा विगतमा पनि बदमासी गरेको प्रमाण जिल्ला प्रशासन कार्यालयले फेला पारेको थियो । उक्त पेट्रोल पम्पले मिसावट गरेको तथ्य थाहा पाएपछि प्रशासन कार्यालय नष्ट समेत गरेको थियो ।

उपभोक्ताले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक अनोज घिमिरेसहितको टोलीले आज अनुगमन गर्ने क्रममा सरकारले तोकेको भन्दा बढी मुल्य लिएर पेट्रोलिय पदार्थ विक्री वितरण गरेको प्रमाण फेला पारेका थियो । भारतमा पेट्रोलिय पदार्थको मुल्य घटेसँगै नेपाल सरकारले पनि जेठ ३ गते पेट्रोलिय पदार्थको मुल्य घटाउने निर्णय गरेको थियो । उक्त निर्णय जेठ ४ गतेदेखि लागू भएको थियो । तर लक्ष्मी पेट्रोल पम्पले भने प्रशासनलाई चुनौती दिदै पुरानै मुल्य असुल्दै आएको थियो । जेठ ३ गते रातिदेखि मूल्य घटेर १७६ रुपैयाँमा बिक्री हुँदै आएको भए पनि लक्ष्मी स्टोरले नयाँ मूल्य सूची अनुसार बिक्री नगरी प्रतिलिटर ५.७ रुपैयाँ बढी पैसा लिएको प्रमाण फेला परेको छ ।

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले विगतदेखि नै विभिन्न नाममा उपभोक्तासँग बढी मुल्यमा पेट्रोलिय पदार्थ विक्री वितरण गर्ने उजुरीमाथि आफूहरुले अनुसन्धान गरेको र आज प्रमाणसहित जरिवाना गर्ने निर्णय गरेको बताए । उनले उपभोक्ता संरक्षण ऐन २०७५. अनुसार कालोबजारी गर्ने लक्ष्मी पेट्रोल पम्पलाई दुई लाख रुपैयाँ जरिवाना गरेर सचेत गराइएको रामेछाप न्युजलाई बताए । उनले भने,‘प्रशासन गलत काम टुलुटुृल हेरेर बस्न खडा भएको होइन, उपभोक्ताको हित गर्न र गलत काम गर्नेलाई कारवाही गर्न खडा भएको हो’, जिल्लाभित्र उपभोक्ताको हित विपरीत गलत उदेश्य राखेर काम गर्ने  जोसुकैलाई कानुन अनुसार कारवाही गछौं ।
प्रशासनले गरेको जरिवाना ३ दिनभित्र नबुझाएको अवस्थामा उक्त पेट्रोल पम्प नै सिज गर्ने कानुनी प्रावधान छ, घिमिरेले भने ।

प्रतिक्रिया दिनुहोस्