रामेछापको लिखु–२ जलविद्युत आयोजनाबाट गाउँ नै जोखिममा, सुरुङमा पानी खसाल्न प्रशासनको रोक



१४ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–१ गुम्देलको पेकरनास जिनर्माणाधिन ५५ मेगावाटको लिखु–२ जलविद्युत आयोजनाको सुरुङ मार्गबाट पानी चुहिएपछि गाउँ नै उच्च जोखिममा परेको छ । सुरुङबाट पानी चुहिएपछि गुम्देलको ४२ घरधुरी उच्च जोखिमा परेको हो । आयोजनाले विगतमा पानीको मुल रहेको कारण पानी आएको दावी गरेको छ । तर सुरुङमा पानी खसालेपछि वस्ती नै जोखिम हुने गरी पानी चुहिन थालेपछि स्थानीयले आन्दोलित भएका थिए । स्थानीयले सुरुङमा पानी खसाल्न तत्काल रोक लगाउनु पर्ने र पानी चुहिएको कारण पत्ता लगाउन माग गरेपछि रामेछापका प्रमुख प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसहितको टोलीले पानी चुहिएको क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । लगत्तै जिल्ला प्रशासन कार्यालय रामेछापले परीक्षणको क्रममा रहेको जलविद्युत आयोजनाको सुरुङबाट पानी चुहिएको निष्ष्कर्ष निकाल्दै तत्कालको लागि वस्ती जोखिममा पर्ने गरी परीक्षणको काम गर्न रोक लगाउने निर्णय गरेको छ ।

आइतवार रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले सुरुङको मार्फत लगिएको पानी चुहावट भई विभिन्न स्थानमा पानी निस्किएको र वस्ती नै पहिरोको उच्च जोखिममा परेको देखिएकाले हाललाई सुरुङ मार्फत पठाएको पानी तत्काललाई केही समयको लागि वन्द गर्न आयोजनालाई निर्देशन दिएका छन् ।
सुरुङबाट पानी चुहिएपछि आयोजनाले विद्युत विकास विभागसहितको विज्ञ ल्याएर सुरुङको परीक्षण गराएको छ । उक्त रिपोर्ट आउन बाँकी छ । आयोजनाका सालिक राम पौडेलले विगतमा नै पानीको मुल रहेको र यसको विषयमा प्राविधिबाट अध्ययन गराउने काम भएको बताए ।
दुगड समूहको लगानीमा निर्माणाधीन ५५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएपछि गाउँले पुरै अहिले त्रासमा छन् । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका–१ को गुम्देलमा निर्माणाधीन ५५ मेगावाट क्षमताको लिखु–२ जलविद्युत् आयोजनाका कारण स्थानीय नागरिकको भागदौड र चित्कार भएको बताए । उनले भने,‘वस्ती नै जोखिमा परेको छ, आयोजनाले विगतदेखि नै स्थानीयमाथि हेपाह प्रवृत्ति देखाउदै आएको छ । ’

प्रतिक्रिया दिनुहोस्