सुनापति गाउँपालिकामा ३८४ किलोमिटर सडक बन्यो, गाउँपालिकाको केन्द्रमा कालोपत्रे हुँदै



२२ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाभित्र ३८४ किलोमिटर सडक निर्माण गरिएको छ । २०७३ सालमा पालिका स्थापना हुँदा करिब १२० किलोमिटर सडक रहेकोमा सात बर्षको अवधिमा २६४ किलोमिटर सडक निर्माण गरेसँगै ३ ८४ किलोमिटर सडक निर्माण गरिएको हाे । निर्माण गरिएको सडक मध्ये हालसम्म पालिकाको केन्द्रसहित करिब ५ किलोमिटर मात्र सडक कालाेपत्रे गरिएकाे छ । गाउँपालिकाको केन्द्र हिलेदेवी हुँदै पाँच वटै वडामा सडकको पहुँच पुगेको छ । तर  अधिकांश सडक कच्ची रहेकाे छ ।

गाउँपालिकाकै लगानीमा यस आर्थिक बर्षमा गाउँपालिकाको केन्द्रमा एक किलोमिटर सडक कालोपत्रको काम अघि बढेको छ । यस आर्थिक बर्षभित्र नै  एक किलाेमिटर सडककाे कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले रामेछाप न्युजलाई बताए । उनले भने,‘हामीले पालिकाभित्रका मुख्य सडकलाई स्तरउन्नती र कालोपत्रे गर्ने योजना बनाएका छौ, पालिकाको बजेट मात्र सम्भव छैन, यसको लागि संघ र प्रदेश सरकारसँग पनि पहल गरिरहेका छौं ।’

पालिकाले करिब १ करोड २५ लाख लगानीमा पालिकाको केन्द्रमा नालासहितको एक किलोमिटर सडक कालोपत्रे गर्ने काम अघि बढाएको छ । हाल बागमती प्रदेश सरकारको लगानीमा लुभु खनियापानी हुँदै डासेसम्म करिब ४ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । आगामी आर्थिक बर्षमा डाँसेबाट पानीघाटसम्म सडक कालोपत्रे गर्ने कार्यको लागि पालिकाले पहल गरिरहेको अध्यक्ष तामाङले बताए ।

पालिकाभित्र पाँच वटा वडाको हरेक बस्तीमा सडकको पहुँच पुगेको बताउदै गाउँपालिकाका इन्जिनियर सानोबाबु श्रेष्ठले भएका सडकलाई व्यवस्थित गर्ने कार्य ध्यान दिइएको बताए । उनले भने,‘अब नयाँ सडक निर्माण गर्नुपर्ने अवस्था छैन, भएका सडकलाई व्यवस्थित बनाउने कार्यमा योजना बनाएका छौं ।’ श्रेष्ठकाे अनुसार पालिकाभित्र हालसम्म ३८४ किलाेमिटर सडक निर्माण गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्