लिखु–२ जलविद्युतको सुरुङ चुहिदा प्रभावित १६ घरधुरीलाई सुरक्षित ठाउँमा सारियो



२४ जेठ, रामेछाप । उमाकुण्ड गाउँपालिकामा निर्माणाधिन लिखु–२ जलविद्युत् आयोजनाको सुरुङबाट पानी चुहिएर प्रभावित भएका ४२ घरमध्ये १६ घरधुरीलाई सुरक्षित ठाउँमा स्तान्तरण गरिएको छ । सुरुङबाट पानी चुहिएर बस्नै नसक्ने अवस्था सृजना भएपछि जिल्ला प्रशासन कार्यालय रामेछापको पहलमा प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको हो ।

प्रभावित घरपरिवारलाई जलविद्युत आयोजनाले अस्थायी बसोबास र खानाको व्यवस्था गरेको छ । ५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङको पानी चुहिएर बस्तीमा पसेपछि पीडितहरुले प्रशासन समक्ष उजुरी दिएका थिए । नागरिकहरु विस्थापित हुने अवस्था सृजना भएपछि रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित सुरक्षा निकायका प्रमुखहरुले स्थलगत अनुमन गरेर तत्काल पानी नखसाल्न निर्देशन दिएको थियो ।

स्थानिय नै विस्थापित हुने गरी सुरुङको पानी नखसाल्न जिप्रका रामेछापको अनुरोधमा विद्युत् विकास विभागले सुरुङमा पानी पठाउने काम रोक्न निर्देशन दिएको छ । अहिले आयोजनाले सुरुङमा पानी पठाउन बन्द गरेको भए पनि सुरुङ खाली भने गराएको छैन । सुरुङबाट पानी चुहिएको बारेमा अध्ययन गर्न विद्युत् विकास विभागले छ सदस्यी विज्ञ टोली गठन गरेको छ । विज्ञ टोलीले आजबाट पानी चुहिएको सुरुङ मार्ग आसपासको क्षेत्रबाट अध्ययन सुरु गरेको छ । प्रभावित क्षेत्रको अवस्थामा बुझन रामेछापका प्रतिनिधिसभा सदस्य पूर्ण बहादुर तामाङ कान्छाराम समेत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्