खुसीको खबरः कुलमानको पहलमा न्यू खिम्ती सब स्टेसनबाटै रामेछापवासीका लागि गुणस्तरीय बिजुली



३२ जेठ, रामेछाप ।
लामो समयदेखि बिजुली जाने हैरानी खेप्दै आएका रामेछापवासीलाई अब भने राहत भएको छ । लामोसाँघु र ढलकेबर हुँदै लामो लाइनबाट विद्युत ल्याइएको कारण रामेछाप जिल्लाको अधिकांश क्षेत्रमा झ्याप झुयाप बिजुली जादै आएको थियो । हावाहुरि चल्दा लामो समय बिजुली बन्द हुने समस्या रामेछापवासीले झेल्दै आएका थिए । तर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पहलमा रामेछापवासीले न्यू खिम्ती सब स्टेशनबाटै आजबाट गुणस्तरीय विद्युत उपयोग गर्न सुरु गरेका छन् ।

रामेछापवासीको लामो समयदेखिको मागलाई ध्यान दिदै प्राधिकरणले १३२/३३ के.भी खिम्ती सब स्टेसनबाट मन्थलीमा ३३/११ के.भी सब स्टेसनसम्म आजबाट सफतापूर्वक लाइन सञ्चालनमा ल्याएको गर्जाङ खिम्ती प्रशारण लाइन आयोजनाका प्रमुख अनुप गौतमले रामेछाप न्युजलाई जानकारी दिए । न्यू खिम्ती सब स्टेसनबाट सञ्चालित ३३ के.भी लाइनको दुरी कम भएकाले अब हाप बिजुली आउने समस्या हटेर गुणस्तरीय विद्युत प्रवाह भएको उनले बताए ।
केही दिन अघि मात्र कार्यकारी निर्देशक कुलमान घिसिङले न्यू खिम्ती सब स्टेसनबाट रामेछाप र दोलखाका लागि जडान गरिएको सब स्टेसनको स्थलगत रुपमा निरीक्षण गरेका थिए । खिम्तीबाट रामेछापको मन्थली, दोलखा र रामेछापको दोरम्बा सब स्टेसनमा अब ३३ के.भी विद्युत प्रवाह हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्