रामेछापको सिद्धेश्वर आधारभुत विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउदै नेपाली सेना



८ असार, रामेछाप ।
नेपाली सेनाले भौतिक पूर्वाधार र स्रोत साधनको अभाव झेल्दै आएको रामेछाप नगरपालिका–७ सुकाजोर स्थित गुमानमा रहेको सिद्धश्वर आधारभुत विद्यालयको शैक्षिक अवस्था सुधार ल्याउने गरी कार्यक्रम सुरु गरेको छ । विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री वितरण गर्नुको साथै विद्यालय परिसरभित्र वृक्षरोपण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर माथि उठाउने गरी काम सुरु गरेको हो ।
रामेछापमा रहेको नयाँ गोरख गण रामेछापले ‘एक इकाई एक विद्यालय सहयोग’ कार्यक्रम मार्फत विद्यालयमा अध्ययनरत विद्यार्थी शैक्षिक गुणस्तर माथि उठाउने क्रियाकलाप गर्दैै आएको छ । नेपाली सेनाको मध्ये पूर्वी पृतना हेड क्वाटरका पृतनापति उपरथी प्रेमध्वज अधिकारीको परिकल्पनामा तयार भएको ‘एक इकाई एक विद्यालय सहयोग’ कार्यक्रमबाट जीर्ण अवस्थामा रहेका तथा श्रोत साधनबाट विपन्न अवस्थामा रहेका सरकारी एवं सामुदायिक विद्यालयलाई सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण लगायतको काम गरिएको हो ।

स्रोत साधनको अभाव झेल्दै आएको विद्यालयलाई छनौट गरी शैक्षिक सत्र २०८० साल वैशाख महिना देखि २०८० चैत्र महिनासम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने योजना अनुरुप नेपाल सिेनाले विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ ।
नयाँ गोरख गण रामेछापका गणपति दीपक टण्डन क्षेत्रीले स्रोत साधनको अभाव रहेको विद्यालयको शैक्षिक गुणस्तर माथि उठाउने गरी आफूहरुले काम अघि बढाएको बताए । नेपाली सेनाले वैशाखमा विद्यालय खेलकुदका सामाग्री वितरण, जेठमा विद्यालय परिसरमा वृक्षारोपण तथा विद्यालयको मुलगेट लगायत कक्षाकोठाको भित्तामा विद्यार्थीरुको पठनपाठनमा सहजताको लागि पाठ्य सामाग्री तथा ज्ञानवर्धक विषय समेटिने कार्टुनी चित्र भित्ते लेखन र असारमा शैक्षिक सामाग्री वितरण, विद्यालयको परिसरमा वृक्षारोपण, २७ विद्यार्थीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्