दोरम्बा शैलुङ गाउँपालिकाको बजेट ५६ करोड ६४ लाख, अध्यक्ष र उपाध्यक्षका लागि ३ करोड



११ असोज, रामेछाप ।
दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ५६ करोड ६४ लाख बराबरको बजेट प्रस्ताव गरेको छ । गाउँ सभाले सो बजेट प्रस्ताव गरेको हो । यस आर्थिक बर्ष गाउँपालिकाले ५८ करोड बजेट कार्यान्वयन गरिरहेको छ ।

बजेटमा यस आर्थिक बर्ष अध्यक्ष र उपाध्यक्षले विनियोजन गर्न पाउने गरी तीन करोड रुपैयाँ विनियोजन गरिएको छ । अध्यक्षको जगेडा कोषमा २ करोड र उपाध्यक्षको जगेडा कोषमा १ करोड राखिएको छ । यस आर्थिक बर्षमा पनि तीन करोड अध्यक्ष उपाध्यक्षले तजबिजले खर्च गर्न पाउने गरी बजेट राखिएको छ ।

गाउँ सभामा कार्यपालिका सदस्यहरुले अध्यक्ष/उपाध्यक्षले आफूखुसी योजना र बजेट बाँडने प्रथा हटाउन माग गरेको एक कार्यपालिका सदस्यले बताए । उनले भने,‘तीन करोड बजेटमा गाउँपालिकाभित्र एउटा महत्वपूर्ण सडक निर्माण हुन्छ, तर अध्यक्ष/उपाध्यले तीन करोड कनिका छरेजस्तो गरी योजना छनोट गरेर सिध्याउने गरेका छन् ।’

संघ र प्रदेशबाट पालिकालाई आउने बजेट घटेको कारण यस आर्थिक बर्ष भन्दा गाउँपालिकाले दुई करोड कम बजेट ल्याएको छ । रामेछापका अन्य स्थानीय तहले अध्यक्ष उपाध्यक्षले जगेडामा राख्ने बजेट कटौती गरेपनि दोरम्बा शैलुङ गाउँपालिकामा भने निरन्तरता दिने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्