रामेछाप निवासी प्रकाशराज पाण्डेले गरे, युरोपको सर्वोच्च शिखरको सफल आरोहण, फहराए नेपाली झण्डा



१६ असार, काठमाडौं ।
रामेछापका युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखरको सफलतापूर्वक आरोहण गरेका छन् । २९ जुनमा पाण्डेले रुसमा रहेको एलब्रस हिमालको दुई पटक सफल आरोहण गरेका हुन् । सातै महादेशका उच्च हिमशिखरहरुको आरोहण गरी सेभेन समिट पूरा गर्नेमा नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका पाण्डे २१ जुनमा रुस प्रस्थान गरेका थिए ।

एलब्रस हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । रुसको दक्षिणी भेगमा ककेसस हिमश्रृङ्‍खलामा पर्ने यो हिमाल सात महादेशका अग्ला हिमाल मध्येको एक हो । चतुर ट्रेक तथा एक्सपिडिसनले आयोजना गरेको यो अभियानमा पाण्डेको गाइड आरोही चतुर तामाङ रहेका थिए ।

२९ जुन बिहान ९ः०० बजे पाण्डेले एलब्रुस इस्टको पनि सफल आरोहण गरेका थिए । पाण्डेले एलब्रुसको शिखरमा चन्द्र सूर्य अंकित नेपाली झण्डा फहराउनुका साथै, नेपाल स्काउट तथा अन्य संघसंस्थाको झण्डा समेत फहराएका थिए ।

पर्वतारोहणमा रहेका हजारौं आरोही मध्येमा निकै कम आरोहीले मात्रै यो सफलता आत्मसाथ गर्न सकेका छन् । युरोपको हिमाल आरोहण पश्चात यसै अभियान अन्तर्गत अफ्रिकाको तान्जानियामा रहेको किलिमान्जारो हिमाल आरोहणका लागि प्रस्थान गर्ने पाण्डेले बताए ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी पाण्डेले यसअगाडि विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोही थिए । सगरमाथासहित मनास्लु, आमादब्लम र आइल्यान्ड पिक हिमालको समेत आरोहण गरिसकेका आरोहण गरी पाण्डे सेभेन समिट पूरा गरेर नयाँ कीर्तिमान कायम गर्ने अभियानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्