गगन–विश्वप्रकाशलाई कान्छारामको प्रश्न–रुखमा भोट नहाल्नेलाई किन तरुण दलको सदस्य बनाइयाे ?



२१ असार, काठमाडौं ।
नेपाली कांग्रेसले जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएर छलफल सुरु गरेको छ । सदस्यता वितरण, नवीकरण र अभिलेकीकरण, विभिन्न तहमा गर्नुपर्ने सम्मेलन, पार्टी सञ्चालन र व्यवस्थापनबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग बैठक गरेका हुन्। जिल्ला सभापतिहरूले पार्टीको कार्यशैली, केन्द्र र प्रदेश सरकार तथा बजेट, भ्रातृ संस्थाका तदर्थ समिति विस्तार लगायतमा समन्वय नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
बैठकमा नेपाली कांग्रेस रामेछापका सभापति एवं रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले पार्टी केन्द्रले जिल्लामा समन्वय नगरी केन्द्रबाट निर्णय गरेकोप्रति आपत्ति जनाए ।
उनले भने,‘रुपान्तरण अभियान भन्दै केही मानिस जिल्ला‍ जिल्ला गइरहेका छन्। के रुपान्तरण गर्नुपर्ने हो ? पार्टी रुपान्तरण गर्ने भए केन्द्रीय कार्यसमितिले निर्णय गर्नुपर्ने होला नि, तरूण दल विस्तार गरेका छन् तर जिल्ला सभापतिसँग समन्वय गरिएको छैन। रूखमा भोट नहाल्नेलाई किन तरूण दलमा सदस्य राख्नुपरेको हो ?’ उनले भातृ संगठनहरुको अधिवेशन किन भइरहेका छैनन भन्ने प्रश्न गर्दै यस्तो अवस्था रहे आगामी चुनावमा कांग्रेसलाई धेरै गाह्रो पर्ने बताए ।

तामाङले भने,‘मलाई नै चुनाव जित्न अर्को पटक गाह्रो पर्ने भइसक्यो, संगठन छैन, बजेट दिएका छैनन्, जो अर्थमन्त्री भयो उसैको क्षेत्रमा मात्रै केन्द्रित गर्ने होइन। बजेट विनियोजन गर्नुअघि नै संसदमा छलफल हुनुपर्ने हो, बजेट विनियोजनपछि छलफलको अर्थ छैन, यो नीति नै सच्याउनुपर्छ ।’
केही दिन अघि मात्र पार्टी सभापति शेरबहादुर देउवाले तरुण दलको संयोजकसहित केन्द्रीय सदस्यहरु मनोनित गरेका थिए । रामेछापबाट आठ जना तरुण दलको केन्द्रीय सदस्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्