काठमाडौंमा श्रंखलाबद्ध रुपमा महिलाको सुनको सिक्री लुटपाट गर्ने रामेछापका एक सहित ४ जना पक्राउ



२४ असार, काठमाडौं ।
काठमाडौंका विभिन्न ठाउँमा मर्निङ वाकमा हिंडेका महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । असार १ देखि २० असारसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जना महिलाहरुको सिक्री लुटपाट भएपछि प्रहरीलले चोरीमा संलग्न व्यक्तहरुलाई पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरुमा रामेछाप लिखु तामाकोसी गाउँपालिका– १ घर भएका रविन दमाई पनि पक्राउ गरेका छन् । प्रहरीका अनुसार उनी २०७२।०७३ सालदेखि लुटपाटको घटनामा पटक–पटक पक्राउ परेको रेकर्डमा छ। पहिलो घटना १ असारको बिहान कपुरधारामा भएको थियो । जहाँ मर्निङ वाक् हिंडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटपाट गरेका थिए । अँध्यारो नै भएको बेलामा सीसीटीभी फुटेज हेर्दा २ जना आएको देखिन्थ्यो ।

त्यही दिन टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भयो । लुटपाटको शैली कपुरधाराकै जस्तो थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलिया मात्र देखिएको प्रहरीले जनाएको छ ।

३ गते बिहान ४ः४५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटपाट भयो । लुटपाट गर्नेहरु मोटरसाइकलमा आएका थिए । घटना लगत्तै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएको व्यक्ति अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए ।

चौथो घटना १३ गते टोखामै भयो । मोटरसाइकलमा आएका दुई जनाको समूहले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटेर भागेको थियो । यसमा पनि केटीएम ड्युक बाइक प्रयोग भएको सीसीटीभी फुटेजमा देखिन्छ ।

१९ गते टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगर लुटपाटमा परिन् । उनले घाँटीमा लगाएको सुन चोरिएको थियो । ‘यसमा एउटै खालको शैली थियो’ महाशाखा प्रमुख डा। मनोज केसीले भने, ‘एउटै ग्रुप वा पछाडिको मान्छे एउटै हुनसक्छ भन्ने थियो । त्यहीअनुसार प्रहरी खटाएका थियौं ।’

छैटौं घटना चक्रपथको बगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटिएको थियो ।

२० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक रिता श्रेष्ठ लुटपाटमा परिन् । सातौं घटनासम्म आइपुग्दा प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुगेको थिएन ।

त्यहीदिन चागलमा अर्को लुटपाट भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिंडिरहेकी सरस्वती डंगोलको सिक्री लुटपाट भयो । बिहान निकै उज्यालो भइसकेको समयमा भएको यो घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज भेट्टायो । ‘सीसीटीभी फुटेज क्लियर भएपछि अनुसन्धानमा लिड दिने अवस्था बन्यो’ महाशाखाका प्रमुख मनोज केसीले भने ।

अनुसन्धानका क्रममा प्रहरीले हुडी लगाएर लुटपाट गर्ने रविन दमाईलाई पक्राउ गरेको छ । व्यवस्थापन गर्ने उमेश क्षेत्री, मोटरसाइकल चलाउने रविन बिकका साथै लुटपाट गरिएको सुन बिक्री गर्न सघाउने राहुल दमाई पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाका प्रमुख मनोज केसीका अनुसार सबै घटनामा रविनले सिक्री लुटपाट गर्ने गरेका थिए । उनले लगाएको हुडी लगायतका सबै सामग्री बरामद भएको छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकल चोरीकै थियो ।

प्रतिक्रिया दिनुहोस्