सुनापति गाउँपालिकालाई झड्काः गाउँपालिकाको निर्णय अदालतद्धारा बदर



२६ असार, रामेछाप ।
सुनापति गाउँपालिकाले अभिभावक र विद्यार्थीको चाहना विपरीत विद्यालयको तह घटाउने निर्णय उच्च अदालतले तत्कालको लागि बदर गरेको छ । गाउँपालिकामा रहेको शिक्षा शाखाले गाउँपालिकाको वडा नम्बर २ मा रहेको मावि मन्दरको कक्षा घटाउने निर्णय तत्काल कार्यालयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको हो ।

विद्यालय व्यवस्थापन समिति, विद्यालय र अभिभावकले असहमति जनाउदा जनाउदै पनि गाउँपालिकाका शिक्षा शाखाका संयोजक कमल बहादुर बमको सिफारिसमा विद्यालयको तह घटुवा गर्ने निर्णय भएको थियो । उक्त निर्णयको विरुद्ध मन्दरका सिंगो अभिभावकहरु आन्दोलन हुँदा अभिभावकले उठाएको जायज माग गाउँपालिकाले सम्बोधन गर्न इन्कार गरेको थियो । गाउँपालिकाले उक्त निर्णय सच्याउन तयार नभएपछि विद्यालय र अभिभावकहरुले उच्च अदालत पाटनमा गाउँपालिको निर्णय बदर गरि पाउ भन्दै रिट दायर गरेका थिए ।

स्थानीय अभिभावक ज्ञान कुमार योञ्जनले वडाअध्यक्ष पदम बहादुर थापा समेतलाई विपक्षी बनाई उच्च अदालतमा रिट दायर गरेका थिए । न्यायधीशद्धय महेश शर्मा पौडेल र दीपेन्द्र अधिकारीको इजलाशले पक्ष र विपक्षी बहस सुनुवाई गर्दै विद्यालयबाट प्राप्त हाजिर पुस्तिकाबाट विद्यालयमा कक्षा ९ र १० मा विद्यार्थीहरु उस्थित रहेको देखिएको फैसला गरेको हो ।

हिजो उच्च अदालतद्धारा जारी अन्तरिम आदेशमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अन्य विद्यालयमा पठनपाठनको व्यवस्थापन भएको भन्ने पनि देखिन नआएको हुँदा गाउँ शिक्षा समितिको मिति २०८०।०१।१३ को निर्णयले मावि मन्दर मेलचौरलाई तह घटाउने निर्णय कार्यान्वयन गर्दा विद्यार्थीको शिक्षाको अधिकारमा आघात पुग्ने देखिएको हुँदा सुविधा सन्तुलनको सिद्धाका आधारमा अन्तिम टुंगो नलाग्दासम्म विद्यालयको तह घटाउने निर्णय कार्यान्वयन नगर्न गाउँपालिकालाई आदेश दिएको छ ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका सुनापति गाउँपालिका–२ दिमीपोखरीका वडाअध्यक्ष पदम बहादुर थापाले गाउँपालिकाभित्र रहेको विद्यालयहरुको शिक्षाको गुणस्तर माथि उठाउन मावि मन्दरसहितका अन्य दुई वटा विद्यालयको तह घटाउने निर्णय गरेको बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, र प्रअलाई बोलाएर छलफल गरेका हौ, विद्यार्थी नै नभएपछि तह घटाउने निर्णयमा पुगेको हो ।’

उनले अन्तरिम आदेशको विषयमा शिक्षा शाखा र गाउँ कार्यपालिकाको बैठक मार्फत निष्कर्षमा पुगिने बताए । शिक्षा शाखाले अभिभावकसँग पर्याप्त छलफल नै नगरी हचुवाको भरमा निर्णय भएको कारण आन्दोलनदेखि अदालतसम्म जानु परेको विद्यालय व्यवस्थापन समितिका एक सदस्यले बताए । उनले भने,‘गाउँपालिकाले पूर्वाग्रह राखेर विद्यालयको तह घटाउने निर्णय गरेको हो, अदालतले हामीलाई तत्कालको लागि न्याय गरेका छ, विद्यालयको तह घटाउने निर्णय कुनै पनि हालतमा मान्य थिएन र छैन् ।’

सुनापति गाउँपालिका शिक्षा शाखाका शिक्षा अधिकृत कमल बहादुर बमले अदालतको आदेशको सम्मान गर्ने बताए । उनले रामेछाप न्युजसँग भने,‘हामीले एउटा विद्यालयको मात्र तह घटाउने निर्णय गरेका होइनौ, अरु दुई वटा विद्यालयको पनि तह घटाउने निर्णय भएको छ, यो अन्तिरिम आदेश हो, नागरिकता विधेयकमा पनि सुरुमा अदालतले दिएको अन्तरिम आदेश अन्तिममा खारेज भएको थियो नि ।’
तर उनले विद्यालयको तह घटाउदा प्रक्रियागत रुपमा त्रुटी रहेको स्वीकार गरे । अन्तरिम आदेशको पालना गर्दै कसरी अगाडि बढने भन्ने विषयमा गाउँपालिकामा छलफल हुने बमले बताए ।

प्रतिक्रिया दिनुहोस्