अब रामेछापभित्र हुने गतिविधि सिसी क्यामेराको निगरानीमा



२७ असार, रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापको पहलमा रामेछाप जिल्लाको सदरमुकाम मन्थलीसहित सीमा नाकाहरुमा सिसी क्यामेरा जडान गरेर जिल्लाभित्रको गतिविधि निगरानी गर्ने काम अघि बढेको छ । प्रहरीको पहलमा स्थानीय तहले पछिल्लो समयमा सुरक्षालाई प्राथमिकता दिदै सीसी क्यामेराको जडान गर्ने कार्यलाई प्राथमिकता दिएका छन् । जिल्लाभित्र हुन सक्ने सम्भावित अपराधिक गतिविधि रोक्न र चोरी लगायतका अपराधिक गतिविधि नियन्त्रण गर्न सिसी क्यामेरा निकै सहयोगी बन्दै आएको छ ।

जिल्लाभित्र सबै भन्दा बढी मन्थली बजारमा ४५ वटा भन्दा सिसी क्यामेरा मन्थली नगरपालिकाले जडान गरेको छ । नगरपालिकाले जडान गरेको सिसी टिभीको निगरानी जिल्ला प्रहरी कार्यालय मार्फत हुँदै आएको छ । खाँडादेवी गाउँपालिकाले गाउँपालिका प्रवेश गर्ने मुख्य नाका सित्खाका चौविसै घण्टा निगरानी गर्न सक्ने आधुनिक प्रविधिको सिसी क्यामेरा जडान गरेको छ । त्यसैगरी लिखु तामाकोसी गाउँपालिकाले खिम्ती बजारमा ६ वटा सिसी क्यामेरा जडान गरेर सञ्चालनमा ल्याएको छ । मन्थली नगरपालिकाले थप सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले सिसी क्यामेराको संख्या बढेसँगै जिल्लाभित्रको सुरक्षामा थप सहयोग पुगेको बताए । उनले रामेछाप न्युजसँग भने,‘जिल्ला प्रवेश गर्ने प्रमुख नाकाहरु र मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गर्न सबै स्थानीय तहलाई पत्राचार गरेका छौ, केही जडान भएका छन्, केही जडान हुने क्रममा रहेका छन् ।’ पराजुलीका अनुसार हाल जिल्लाभित्र ६८ वटा सिसी क्यामेरा जडान गरेर सञ्चालनमा रहेका छन् । जिल्लाभित्र अझै ५० भन्दा बढी सिसी क्यामेरा जडान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्