विद्युत प्राधिकरणले कमायो १२ अर्ब ३३ करोड नाफा ,यस्ता छन् प्रमुख उपलब्धिहरु (पूर्णपाठसहित)



२५ साउन, काठमाडौं । गत आर्थिक वर्षमा नेपाल विद्युत प्राधिकरणले १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । आर्थिक वर्ष ०७९र८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । आर्थिक वर्ष ०७७।०७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८र७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो ।

गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको घिसिङ्ले बताए ।प्राधिकरणले विद्युत बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिब ८१ अर्ब रूपैयाँ रहेकोमा अहिले बढेर करिब १ खर्ब १८ अर्ब पुगेको घिसिङको भनाइ छ । उनका अनुसार प्राधिकरणको सञ्चित नाफा ११ अर्बबाट बढ्दा ३६ अर्ब ६७ करोड रूपैयाँ पुगेको छ । प्राधिकरणका निर्देशक घिसिङले प्राधिकरणले सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी गरिरहेको बताए । सर्वसाधारणमा सेयर जारी गर्नका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाइसकेको उनले बताए ।

गत आर्थिक बर्षमा गरेको प्रमुख उपलब्धिहरु (पूर्णपाठसहित)

पत्रकार मित्रहरु,

नेपाल सरकार, मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त गरेको थियो । आफ्नो व्यक्तिगत जीवनको सबैभन्दा ठूलो चुनौती स्वीकार गरी नेपाल सरकारले दिएको जिम्मेवारी दृढताकासाथ पूरा गर्न दोस्रो कार्यकालका लागि प्राधिकरणमा फर्किएको थिएँ ।

प्राधिकरणको वित्तीय अवस्थामा सुधार, संस्थाभित्रको सुशासन, हरेक नागरिकको घरमा विद्युत पुर्याउन विद्युतीकरण, विद्युत आपूर्तिलाई विश्वसनीय र भरपर्दो बनाउन प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विस्तार एवम् सुदृढीकरण, उत्पादनतर्फका ठूला जलविद्युत आयोजना अगाडि बढाउने, आन्तरिक रुपमा खपत बृद्धि तथा अतिरित्त भएको विद्युत् निर्यात लगायतलाई उच्च प्राथमिकतामा राखी कार्य अगाडी बढाइएको छ ।

संस्थाको नाफा बढाउँदै लगेर मुलुककै सबल, अनुशासित तथा सम्मानित संस्था बनाउने, विद्युत उत्पादन बढाउने र चुहावट घटाउने, अधिकतम ग्राहकसम्म पहुंच विस्तार गर्ने, वित्तीय खर्च घटाउने,  प्रसारण तथा वितरण लाइन तथा सबस्टेसन विस्तार र सुधार गर्ने, प्रशासन सुधार्ने र ग्राहकलाई नियमित, गुणस्तरीय, भरपर्दो तथा पर्याप्त विद्युत् उत्पादन गर्न अहोरात्र क्रियाशील छौं । २ वर्ष अघि करिब 89 प्रतिशत विद्युतीकरण भएकोमा अहिले ९५ प्रतिशत पुगेको छ ।

समय समय विद्युत् गएको भन्ने उपभोक्ताको गुनासोलाई सम्बोधन गर्ने प्रणालीका पूर्वाधार संरचनाहरु सुधार र सुदृढीकरण अगाडि बडाइएको छ । संघीय राजधानी काठमाडौं उपत्यका सहित देशका प्रमुख ११ सहरहरुको सन् २०५० सम्ममा हुने विद्युतको माग प्रक्षेपण गरी चरणबद्ध रुपमा ४००, २२० र १३२ केभीका प्रसारण लाइन तथा सबस्टेसनहरुको निर्माण अगाडि बढाइएको छ । सेवा प्रवाहलाई आधुनिक तथा स्वचालित बनाउन डिजिटल एनइए कार्यक्रम अन्तर्गत प्रसारण तथा वितरणतर्फका सबस्टेसनहरुलाई स्वचालित बनाउन सुरु गरिएको छ ।

आयोजना निर्माणलाई तिब्रता दिन लामो समयदेखि अलपत्र अवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केही आयोजनाहरुको ठेक्‍का सम्झौता रद्द गरी नयाँ ठेक्‍का लगाइएको छ । निर्माणाधीन आयोजनाहरु सम्पन्‍न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ।

 

यस अवधिमा हासिल भएका मुख्य उपलब्धीहरु

वित्तीय तथा प्रशासनिक सुधार

  • प्राधिकरणको नाफा आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १० करोड रुपैयाँ रहेकोमा आव २०७८/७९ मा खुद नाफा फेरि बढेर १३ अर्ब ३७ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । गत आवमा शुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाव घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत् उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्‍न विद्युत् आयात केही बढ्दा नाफा प्रभावित भएको छ । प्राधिकरणले विद्युत् बिक्री र अन्यबाट गर्ने आम्दानी दुई वर्ष अघि करिव 81 अर्व रुपैयाँ रहेकोमा अहिले बढेर करिव 1 खर्व 18 अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणको संचित नाफा ११ अर्वबाट बढेर 36 अर्व ६७ करोड रुपैयाँ पुगेको छ।
  • प्राधिकरणको वास्तविक सम्पत्ति मूल्याङ्कन कार्य सम्पन्‍न गरिएको छ । साथै, प्राधिकरणको तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन 2041 बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइएको छ।
  • उपयुक्त स्थानम उपयुक्त व्यक्ति भन्‍न अवधारणाका आधारमा जिम्मेवारी दिई ग्राहकलाई दिने सेवामा सुधार गर्न, विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुल वक्यौता असुली लगायतलाई मानक मानी कार्यसम्पादनको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
  • बजेट र खर्च नियन्त्रणको लागि केन्द्रीकृत भुक्तानी एवम् अनलाइन भुक्तानी प्रणालीलार्इ प्रभावकारी बनाइएको छ।

वितरण तथा ग्राहक

आ.व.२०७७।७८ मा १७.३८ प्रतिशत रहेको विद्युत चुहावट ३.९२ प्रतिशतले घटेर हाल १३.४६ प्रतिशत पुगेको छ। वितरणतर्फको विद्युत चुहावट ९ दशमलव ७६ प्रतिशतमा सीमित गरिएको छ ।

  • करिब दुई वर्ष अघि ८९ प्रतिशत नागरिकले राष्ट्रिय प्रसारण लाइनको विद्युत् पाएकोमा अहिले ९५ प्रतिशत पुगेको छ । मधेश, बागमती र गण्डकी प्रदेशहरुमा सारभूतरुपमा पूर्ण विद्युतीकरण भएका छन् । कोशी प्रदेशमा ९५ प्रतिशत, लुम्बिनी प्रदेशमा ९८ प्रतिशत, कर्णाली प्रदेशमा ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८२ प्रतिशत विद्युतीकरण भएको छ । ७ सय ५३ स्थानीय तहहरुमध्ये प्राधिकरणको प्रणालीबाट ५ सय ५ सारभूतरुपमा पूर्ण विद्युतीकरण, २ सय २७ वटा स्थानीय तहहरुका अधिकांस स्थानमा र २१ वटा स्थानीय तहहरुका अधिकांस स्थानहरुमा सोलार, साना तथा लघुजलविद्युतमार्फत विद्युतीकरण भएका छन् । आगामी दुई वर्ष भित्र मुलुकभर विद्युतीकरण गर्ने सरकारको घोषणालाई कार्यान्वयन गर्न सम्पूर्ण तयारी पूरा गरी कामहरु भइरहेको छ ।
  • प्रति व्यक्ति ऊर्जा खपत करिब २३५ युनिट रहेकोमा अहिले बढेर ३८० युनिट पुगेको छ
  • विगत २ वर्षमा उद्योगहरुको 800 एमभिए विद्युत लोड स्वीकृत गरिएको छ ।
  • काठमाडौं उपत्यका, भरतपुर र पोखरा महानगरपालिका क्षेत्रका विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्न सुरु गरिएको कार्य सम्बन्धित निकायहरु सँगको समन्वया समस्या भएकोले केहि ढिलाइ भए तापनि कार्य सम्पन्‍न गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ।
  • ग्राहकहरुलाई सिङ्गल फेज कनेक्सन ३ दिनमा र ३ फेज मिटर १० दिनमा GIS गर्नु पर्ने वाहेक) उपलब्ध गराउने व्यवस्था गरीएको। थ्रि फेज कनेक्सनको लागी Online आवेदन गर्न सकीने व्यवस्था गरीएको। थ्रि फेज ग्राहकहरुलाई स्मार्ट मीटर जडान कार्यक्रमलाई तिव्रता दिईएको छ ।
  • विद्युत महशुल भुक्तानी लगायत ग्राहकहरुलाई विविध जानकारी लगायत सेवा छिटो छरितो उपलब्ध गराउन NEA App प्रयोगमा ल्याइएको।
  • ५० के.भि.ए. सम्मको लोड माग ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराईने प्रावधानलाई संशोधन गरी १०० के.भि.ए.सम्मको लोड ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराईने प्रावधान राखीएको।
  • दुग्ध चिस्यान केन्द्र, शीत भण्डार, सामुदायीक खानेपानी र सामुदायीक सिचाईको ग्राहकलाई २०० के.भि.ए. सम्म विद्युत शक्ती प्राधिकरणको ट्रान्सफरमरबाट उपलब्ध गराउन सकिने व्यवस्था गरीएको।
  • चार्जीङ्ग स्टेशन जडान सम्वन्धी स्पष्ट व्यवस्था गरीएको र प्रर्वद्धनको लागी चार्जीङ्ग स्टेशन रहने स्थान सम्म विद्युतीय लाईन ने.वि.प्रा.ले निःशुल्क निर्माण गरीदिने र २०० के.भि.ए. सम्मको विद्युत शक्ती ने.वि.प्रा.को ट्रान्सफरमरबाट उपलब्ध गराउन सकीने व्यवस्था गरिएको।
  • करिव २२ लाख ग्राहकलार्इ नि:शुल्क विद्युत ऊर्जा, सिंचाइ, खानेपानी, धार्मिक स्थल, चार्जिङ्ग स्टेशन लगायत गरी प्राधिकरणले वार्षिक करिक ४ अर्व बराबारको महशुलमा अनुदान उपलब्ध गराएको छ।
  • विपन्‍न परिवारहरुलार्इ करिव 40,000 मिटर नि:शुल्क उपलब्ध गराएको छ।
  • विद्युत आपूर्तिमा रहेको ग्राहकहरको गुनासो सम्बोधन गर्न हरेक प्रदेशमा कल सेन्टरको स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

 

सडक बत्ति र चार्जिङ्ग स्टेशन

  • शहर उज्यालो कार्यक्रम अन्तर्गत ललितपुर, पोखरा, भरतपुर लगायत देशका करिव 8 वटा नगरपालिकामा 11500 वटा सडक बत्ति र 67 वटा हाइमास्ट जडान सम्पन्‍न भएको छ भने काठमाडौ लगायत २७ वटा पालिकाहरुमा सडक बत्ति जडान कार्य अगाडि बढाइएको छ।
  • देशमा रहेको विभिन्‍न सम्पदा सूचीमा रहेका मन्दिर गुम्बा आदिमा लाइटिङ्ग गर्ने कार्य अन्तर्गत बौद्ध, स्वयम्भु र पशुपतिनाथमा Architectural Lighting डिजाइन गरी कार्यान्वयनको चरणमा रहेको छ।
  • विद्युत खपत बढाउन विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्‍न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएको छ भने थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको छ । त्यस्तै नीजि क्षेत्रलार्इ प्रवर्द्धन गर्ने प्राधिकरणको नीति अनुरुप देशको विभिन्‍न ठाउँमा 100 वटा भन्दा बढी चाजिङ स्टेशन जडान कार्य भैसकेहेको छ।

 

हरित हाइड्रोजन कार्यक्रम

हरित हाइड्रोजन कार्यक्रम सम्वन्धि Global Green Growth Institute (GGGI), कोरिया र काठमाडौ विश्व विद्यालयसँगको प्राविधिक सहयोगमा नेपालमा हरित हाइड्रोजन उत्पादन र परिप्रयोगका सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरि कार्यान्वयनको चरणमा रहेको छ। प्राधिकरणले नमूना परियोजनाको रुपमा एक हरित हाइड्रोजन प्लान्ट स्थापना गर्ने तयारी गरेको छ।

 

प्रसारणतर्फ

आन्तरिक:

  • हाल 5742 सर्किट कि.मी. को प्रसारण लाइन र 8867 एमभिए क्षमताका सवस्टेशनहरु सञ्‍चालनमा रहेका छन्।
  • दुर्इ बर्षमा ४००/220/132 गरी करिव 9 सय सर्किट कि.मी. प्रसारण लाइन निर्माण सम्पन्‍न भएको छ। भने 9300 सर्किट कि.मि. निर्माणाधीन छ।
  • करिव 25 सय एम.भि.ए. क्षमताका 17 वटा सवस्टेशन निर्माण सम्पन्‍न भएका छन् भने 10500 एम.भि.ए. क्षमताका 54 वटा सवस्टेशन निर्माणाधीन छ।
  • सन् 2050 सम्मको विद्युत मागलार्इ धान्‍ने गरी काठमाडौ लगायत देशका प्रमुख शहरहरुलार्इ ११ वटा क्लस्टरमा विभाजन गरी प्रसारण तथा सवस्टेशन संरचनाहरुको गुरुयोजना तयार पारिएको छ। सोही अनुसार स्रोत जुटार्इ क्रमिकरुपले निर्माण अगाडि बढाइने छ।
  • मधेश क्षेत्रमा हुलाकी राजमार्ग आसपासमा बढ्दो शहरीकरण र औद्योगिकिकरणको लागि आवश्यक विद्युत माग आपूर्ति गर्न हुलाकी राजमार्ग आसपासबाट 400/220/132 के.भी. पूर्वपश्चिम प्रसारण लाइन निर्माण गर्ने कार्य प्रारम्भ गरिएको छ।
  • बुटवल-लमही-छिन्चु, दोदोधारा- दैची ( अत्तरीया) 400 के.भी. प्रसारण लाइन खण्डको विस्तृत अध्ययन गरी निर्माण चरणमा क्रमिकरुपमा अगाडि बढाइएको छ।
  • मध्यपहाडी राजमार्ग हुँदै जाने प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्‍न हुने चरणमा रहेको छ। अरुण हव-तिङला-दुधकोशी-ढल्केबर र अरुणहव-इनरुवा-अनारमनी 400 के.भी.प्रसारण लाइनको विस्तृत अध्ययन सम्पन्‍न भै वित्तिय व्यवस्थापनको चरणमा रहेको छ।
  • भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको लागि स्वस्टेशन क्षमता थप गर्ने प्रसारण लाइन विस्तार ग्यापासिटर बैंक थप र वितरण संरचना सुधार एवम् विस्तार कार्य व्यापकरुपमा अगाडि बढाइएको छ।

अन्तर्देशीय:

  • बुटवल-गोरखपुर 400 के.भी. प्रसारण लाइनको निर्माण शुरु भएको छ।
  • कुशाह-कटैया दोस्रो सर्किट 132 के.भी. परवानीपुर-रक्सौल दोस्रो सर्किट 132 के.भी. र मैनहिया-सम्पतिया 132 के.भी. डवल सर्किट 132 के.भी. प्रसारण लाइन निर्माण सम्पन्‍न भएको छ।
  • इनरुवा-पूर्णिया र लम्की-वरेली 400 के.भी. लाइन, नेपालगञ्‍ज-नानपार 132 के.भी. र अत्तिरया (दैची)-टनकपुर 220 के.भी. प्रसारण लाइनहरुको निर्माणको लागि प्रकृया अगाडि बढाइएको छ।
  • चीन जोडने रातमाटे-रसुवागडी-केरुङ 400 के.भी. प्रसारण लाइनको अध्ययन सम्पन्‍न भएको छ।

 

विद्युत व्यापार

वाह्य:

  • नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरु गरी हाल करिव ४५० मेगावाट विद्युत निर्यात भैरहेको छ।
  • भारत निर्यातको लागि करिव ६०० मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको छ।
  • विहार र नेपालका विभिन्‍न स्थानमा जोडिएका १३२ के.भी. प्रसारण लाइनहरुबाट विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिव ३०० मेगावाट विद्युत बिक्री गर्न पि.टि.सि. इन्डिया, विहार स्टेट पावर कर्पोरेशन र प्राधिकरण बीच त्रिपक्षीय सहमति भएको छ।
  • भारतको हरियाना राज्यलार्इ विद्युत सप्लार्इ गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एन.भि.भि.एन सँग ५ वर्षको लागि २०० मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता सम्पन्‍न भएको छ। सो को समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको छ।
  • बंगलादेशमा विद्युत निर्यातको लागि भारतको एन.भि.भि.एन., बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरण बीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको छ।

आन्तरिक:

  • हालसम्म प्रणालीको जडित क्षमता कुल २8२२ मेगावाट पुगेको छ भने आ.व.२०७८।७९ र २०७९।80 ( आव 2080/81 श्रावण 24 गतेसम्म) मा क्रमश: ७५१ मेगावाट र ६३२.३७ मेगावाट गरी जम्मा 1383.37 मेगावाटका जलविद्युत तथा सौर्य आयोजनाहरुबाट उत्पादन सुरु भएको छ ।
  • हालसम्म करिव 8052 मेगावाट विद्युत खरिद बिक्री सम्झौता सम्पन्‍न भएकोमा गत दुर्इ वर्षमा मात्र करिव 1774 मेगावाटको विद्युत खरिद बिक्री सम्पन्‍न भएको छ। यसको अलावा प्राधिकरणले करिव 2290 मेगावाटको मस्यौदा विद्युत खरिद बिक्री सम्झौता सम्पन्‍न गरिसकेको छ। कुल 2168 मेगावाट विद्युत खरिद बिक्री सम्झौताको मस्यौदा तयारी गर्ने प्रकृयामा रहेका छन्।
  • सौर्य विद्युतको आधार मुल्य पाँच रुपैयाँ चौरान्‍नब्बे पैसा तोकी पहिलो पल्ट बोलपत्र मार्फत प्रतिस्पर्धा गरी करिव १०० मेगावाटको सौर्य विद्युतको खरिद सम्झौता गर्ने चरणमा रहेको छ।

उत्पादन:

  • १०६० मेगावाट जडित क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीका लागि वित्तीय स्रोत जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनास्थलमा कार्यालय तथा कर्मचारी अवासगृह निर्माण अन्तिम चरणमा पुगेको छ । २ किलोमिटर सुरुङसहित करिब २४ किलोमिटर प्रवेश सडक निर्माण सुरु भएको छ । आयोजनाको निर्माण सुपरीवेक्षणका लागि परामर्शदाता छनौट अन्तिम चरणमा पुगेको छ ।
  • ४९० मेगावाट जडित क्षमताको अरुण–४ जलविद्युत आयोजना प्राधिकरण र सतलज जलविद्युत निगम, भारतबीच साझेदारीमा निर्माण गर्न समझदारीम पत्रमा हस्ताक्षर गरिएको छ । आयोजनालाई अगाडि बढाउन संयुक्त उपक्रम कम्पनी स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ ।
  • चैनपुर सेती 210 मेगावाटको आयोजना निर्माण अगाडि बढाउन जग्गा अधिग्रहण लगायतका कार्यहरु भैरहेका छन्।
  • प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको कम्पनी अगुवाइमा निर्माणाधीन २७० मेगावाटका ४ जलविद्युत् आयोजनाहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
  • ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको छ भने लगानीका लागि दातृ निकाय एसियाली विकास बैंक लगायतसँग आवश्यक प्रकृया अगाडि बढाइएको छ ।
  • ९९ मेगावाटको तामाकोशी पाँचौ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्‍न गरी निर्माण कार्य सुरु गर्न निर्माण व्यवसायी छनोटका लागि खरिद प्रक्रिया अगाडि बढाइएको छ । साथै ६० मेगावाट मोदि जलविद्युत आयोजनाको बोलपत्र आव्हान गरि निर्माण प्रकृया अगाडि बढाइएको छ।
  • उत्तरगंगा, आँधीखोला लगायत सुनकोशी 3 तथा केही पम्प स्टोरेज जलविद्युत आयोजनाहरुको अध्ययन सुरु गरेको छ।

आगामी दिन प्राधिकरणका लागि थप चुनौतिपूर्ण छन् । आहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौती हो भने उत्पादित विद्युतको वजार व्यवस्थापन दोश्रो चुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ । चुनौतीहरुको समाधान गरी आगामी दिनमा मुलुकभरका नागरिकालाई पर्याप्‍त, नियमित, भरपर्दो, र गुणस्तरीय विद्युत आपूर्ती गर्न हर सम्भव प्रयास केन्द्रित गर्ने र नाफासहितको सक्षम, सबल प्राधिकरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।

 

कुलमान घिसिङ

कार्यकारी निर्देशक

नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस्