टंकलाल घिसिङ एसियाडको सेफ दि मिसनमा नियुक्त



२७ भदौ, काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्समा नेपालको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ नियुक्त भएका छन् । नेपाल ओलम्पिक कमिटीको सोमबार बसेको १६औं कार्यकारी बैठकले एसियन गेम्सको सेफ दि मिसनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव  घिसिङलाई नियुक्त गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपालको डेपुटी सेफ द मिसनमा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य र परिषद्को बोर्ड सदस्य अञ्जन धमलालाई नियुक्त गरेको छ । बैठकले ओलम्पिक बडा पत्रको धारा २७ र २८ को उपधारा ४ र ५ अनुसार निर्णय गरेको हो । त्यस अनुसार ओलम्पिक कमिटीले सेफ दि मिसनको नियुक्ती गर्ने गर्छ ।

प्रतियोगिताका सहभागी हुने खेलाडी, पदाधिकारी र अरू सदस्य सेफ दि मिसनको जिम्मेवारीमा रहने गर्छ । प्रतियोगिताका क्रममा सेफ दि मिसन खेलाडी भिलेजमा बस्नु पर्ने र तिनको पहुँच चिकित्सकीय, प्रशिक्षण तथा प्रतिस्पर्धा स्थल, मिडिया सेन्टर र एसियाली फेमिली होटलमा पनि हुने गर्छ । यस्तै बैठकले प्रतियोगितामा सहभागी हुने खेल तथा त्यसमा सहभागी हुने खेलाडी संख्याको पनि अन्तिम निर्णय गरेको छ । त्यस अनुसार १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीका सहभागिता रहने छ ।

प्रतिक्रिया दिनुहोस्