चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन मन्त्री ज्वालाद्धारा कार्यदल गठन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित यातायात क्षेत्रको सुधार गर्न सर्वपक्षिय कार्यदल गठन गर्नुभएको छ । शुक्रवार सरोकारवाला सवै पक्षलाई बोलाएर मन्त्री ज्वालाले यातायात ब्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको नेतृत्वमा कार्यदल गठन गर्नुभएको छ ।
‘यातायात क्षेत्र चुस्त नहुँदा दशै, तिहार र छठ जस्ता पर्वहरुमा लाखौ यात्रृहरुले सास्ती पाउँदै आएका छन् , यो बर्ष त्यसलाई ब्यवस्थित गर्न समयमै कार्यदल बनाएका छौ’ मन्त्री ज्वालाले भन्नुभयो ‘कार्यदलले एक साताभित्र प्रतिवेदन दिन्छ, त्यही आधारमा ब्यवस्थापनको काम थाल्छौ ।’ यात्रृहरु ठगिने, बिचबाटोमा अलपत्र जस्ता सास्ती ब्यहोर्नु नपरोस भन्नलाई मन्त्री ज्वालाले सरोकारवाला निकायसँग बैठक गर्नुभएको हो । मन्त्री ज्वालाले सिंहदरवारमा बोलाएका कार्यक्रममा राज्यमन्त्री नन्दा चपागाई, बाग्मति प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल, प्रहरी प्रधान कार्यालय, उपत्यका ट्राफिक महाशाखा, सडक विभाग, यातायात ब्यवसायी महासंघ, उपभोक्ता संरक्षण मञ्च, ट्रेड युनियनकाका प्रतिनिधिहरु र काठमाडौं महानगरपालिकाको सहभागी रहेको थियो ।
दशै, तिहार र छठ पर्वमा राजधानी काठमाडौंबाट बर्षेनी १० लाख यात्रृहरु बाहिरिने गरेका छन् । बाहिरिने यात्रृहरुलाई सुरक्षित पुरयाउन मन्त्री ज्वालाले पहल थाल्नुभएको छ । मन्त्री ज्वालाको प्रस्तावमा यातायात ब्यवसायी महासंघले प्रतिबद्धता पनि जनाएको छ । ‘चाहे ताप्लेजुङ होस्, चाहे जुम्ला होस्, गाडीको अभावमा टिका लगाउनबाट कसैलाई पनि बन्चित हुन दिदैनौ’ यातायात ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटाैलाले भन्नुभयो ।
मन्त्री ज्वालाले दशैको बुकिङ खुल्नुभन्दा अगाडी सडकको अवस्था सुधार गर्न सडक विभागलाई निर्देशन पनि दिनुभएको छ । ‘बर्षातका कारण सडकहरु बिग्रेका छन्, ति सडकहरु तत्काल सुधार गर्नुहोस्’ मन्त्री ज्वालाले भन्नुभयो । लगतै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले सडकको अबस्था सुधार गर्न तत्कालै टोली खटाउने प्रतिबद्धता जनाउनुभएको छ भने ट्राफिक महाशाखाले ब्यवस्थापनका लागि आफुहरुले कुनै कसरत बाँकि नराख्ने बताएको छ ।
उपभोक्ता संरक्षण मन्त्रका प्रतिनिधिहरुले सडक छेउका होटलहरुले यात्रृहरुलाई दुषित खाना खुवाउने र त्यसको चर्काे मुल्य असुल गर्ने गरेको भन्दै त्यसको निरक्षण गर्न मन्त्री ज्वालालाई आग्रह गरेका छन् । मन्त्री ज्वालाले पनि राज्यका अन्य निकाय र मन्त्रालयहरुसँग सहकार्य गरी निरक्षण गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्