रामेछाप प्रहरीको सफल अनुसन्धानः एकल महिला हत्यामा संलग्न तामाङ यसरी पक्राउ परे



६ असोज, रामेछाप ।
गत भदौ ६ गते रामेछापको लिखु तामाकोसी गाउँपालिका–४ कोटगाउँकी ४५ बर्षिय सरिता तामाङ आफ्नै घरको आँगनमा मृत भेटिइन । उनको मृत्यु भएपछि गाउँलेहरु भेला भए । गाउँलेहरुले निष्कर्ष थियो, तामाङको आफ्नै कारणले मृत्यु भएको हो, हत्या होइन । शौचालय अगाडि घोप्टो परेको र टाउकोमा गहिरो चोट लागेको अवस्थामा उनलाई स्थानीयले फेला पारेका थिए । गाउँमा अन्य घर भन्दा एकान्तमा उनी वस्दै आएकी थिइन । उनले एक बर्ष अघि मात्र श्रीमान गुमाएकी थिइन । तामाङको एक मात्र २३ बर्षिय छोरा वैदेशिक रोजगारीको शिलसिलामा दुवईमा रहेका थिए । श्रीमान गुमाएको पीडालाई सहदै उनले जीवन फरिने आशामा एक मात्र छोरालाई विदेश पठाएर घर व्यवहार धान्दै आएकी थिइन ।

गाउँमा खेती किसान गरेरै जीवन धान्दै आएकी तामाङले छोराले कमाएपछि जीवन फेरिने आशा संगाल्दै आएकी थिइन । तर उनको लागि भदौ ५ गते साँझ नै अन्तिम दिन बनेर आयो । श्रीमान गुमाएको एक बर्षपछि उनी पनि श्रीमानको प्यारो बन्न पुगिन । उनको गाउँमा ठूलो दुस्मनी कोहीसँग पनि थिएन । तर गाउँकै छिमेकी ४३ बर्षिय वीर बहादुर तामाङ उनको काल बनेर खडा भए । भदौ ५ गते साँझ वीर बहादुर तामाङ सरिता तामाङको घरमा पुगे । दुई जनाबीच चर्किएको विवाद नै सरिताको मृत्युको विषय बन्न पुगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भदौ ५ गतेको घटना भएपनि भदौ ६ गते घटना सार्वजनिक भएको थियो । घटना स्थलको प्रकृति सामान्य रुपमा हेर्दा सरिता तामाङ आफ्नै कारणले लडेर मृत्यु भएको देखाइएको थियो । गाउँलेहरु पनि हत्या नभई मृत्यु नै भएकोमा करिब निश्चित थिए । किनकी घटनाको अवस्था नै सोही अनुरुप घटाइएको थियो । तर जब घटनास्थलमा धोवी प्रहरी कार्यालबाट खटिएका प्रहरी सहायक निरीक्षक रोशन त्रिपाटीको टोली पुग्यो,त्यसपछि प्रहरीले घटनालाई शंकास्पद भएको केही तथ्य फेला पार्यो । घटनाको मुचुल्का बनाएर तामाङको शवको पोष्टमार्टम गर्न मन्थली पठाएर प्रहरीले घटनालाई शंकाको घेरमा राख्दै सुष्म ढंगले अनुसन्धान अघि बढाएको थियो ।

उनको हत्यामा संलग्न हुन सक्ने पाँच जना शंकास्पद व्यक्तिहरुलाई प्रहरीले सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्नको लागि जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुली स्वयंम नै घटनास्थलमा पुगेर घटनाको अवस्थाको जानकारी लिएर टोली परिचालन गरेका थिए । डिएसपी पराजुली भन्छन–‘गाउँहरुलेहरुले हत्या नभई मृत्यु हो भनेका थिए, हामीले केही तथ्य फेला पारेपछि हत्या हो भनेर अनुसन्धान अघि बढाएका थियौ, घटनाको अनुसन्धान गर्न हामीले धेरै मेहनत गरेर काम गर्यो अन्ततः हत्यामा संलग्न व्यक्त पक्राउ गर्न सफल भयौ ।’ लामो अनुसन्धानपछि गत भदौ २७ गते प्रहरी समक्ष सोही ठाउँका वीर बहादुर तामाङले सरिता तामाङको हत्या आफूले गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।

प्रहरी समक्ष दिएको बयानमा उनले आफूले सरिता तामाङलाई ढोकामा घोक्रयाउदा टाउकोमा चोट लागेको र कसैले थाहा नपाउन भनेर शौचालयपट्टी फर्काएर काठको चिरकटो राखेको हुँ । प्रहरीले हाल उनलाई रामेछाप अदालतमा म्याद थपेर थप अनुसन्धान गरिरहेको डिएसपी पराजुलीले रामेछाप न्युजलाई बताए । उनले भने,‘हत्यारा जो कोही पनि भाग्न सक्दैनन, यो देशमा नियम कानुन र काम गर्ने निकाय छ, प्रहरी आफ्नो कर्तव्य पूरा गर्न मन बचन र कर्मको साथ लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्