रामेछापमा प्रभावकारी बन्दै सिसी टिभी,हराएको खसीदेखि मोटरसाइकलसम्म पक्राउ



१३ असोज, रामेछाप ।
रामेछाप जिल्लामा पछिल्लो समयमा सिसी क्यामेराको निगरानी प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र हुने अपराधिक गतिविधि र चोरी निकासी रोक्नको लागि सिसी क्यामेरा सहयोगी बन्न पुगेको हो । सिसी क्यामेराको सहयोगमा जिल्ला प्रहरी कार्यालय रामेछापले खसी चोरीमा संलग्नदेखि मोटरसाइकल चोरीमा संलग्न व्यक्तिहरुको पहिचान गरी पक्राउ गर्न सफल भएको छ ।
प्रहरीले जिल्लाभित्र जनशक्तिसँगै प्रविधिको प्रयोगलाई बढाउदै लगेको छ । स्थानीय तहको सहयोगमा प्रहरीले सदरमुकाम मन्थलीसहित जिल्लाका विभिन्न सीमा नाकाहरुमा गरी करिब ७२ वटा भन्दा सिसी क्यामेरा जडान मार्फत निगरानी गर्दै आएको छ ।
प्रहरीले गत वैशाख १ गते बेलुका मन्थली नगरपालिकाबाट हराएको बा. ०२८ प. ०९०७ नम्बरको यामाहा कम्पनीको १४९ सिसीको मोटरसाइल चोरीमा संलग्न सिसी क्यामराको फुटेजको आधारमा उपेन्द्र प्रसाद भण्डारीलाई पक्राउ गरेको थियो । उक्त चोरीका घटनामा सलग्न भण्डारीलरामेछाप जिल्ला अदालतले १ बर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

त्यसैगरी भदौ २३ गते दिउसो ४ बजेको समयमा मन्थली नगरपालिका–१३ का मोहन बहादुर खड्काले चराउन लगेको खसी जंगलबाटै हराएको थियो । करिब ४० किलोको खसी हराएपछि खड्काले खोजी गरिदिन प्रहरीमा उजुरी दिएका थिए । त्यसैगरी सोही ठाउँका ललिमाया अधिकारीले करिब २५ केजीको खसी हराएको उजुरी प्रहरी समक्ष गरेकी थइन । गाउँघरमा धमाधम खसी हराउन थालेपछि प्रहरी चौकी खिम्ती अगाडीको बाटोमा जडान गरेको सिसी क्यामराको फुटेजमा खसी र खसी चोरीमा सलग्न व्यक्तिहरुको पहिचान भएको थियो ।

फुटेजमा मन्थली बजारमा रहेको देवकोटा चोकदेखि जिल्ला प्रहरी कार्यालय रामेछापतर्फ आउने ओरालो वाटोको दाहिने साईडमा रहेको सरस्वती फ्रेस मिट हाउसको अगाडी दिपक कार्कीले चलाएको बा ७७ प ७६१५ नम्बरको पल्सर मोटरसाईकलको पछाडी रमेश अधिकारीले बसी उक्त खसीहरुलाई बोकी लगेको पत्ता लागेको थियो । खसी चोरीमा संलग्न व्यक्तिहरुलाई रामेछाप जिल्ला अदालतमा म्याद थप गरेर हाल अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी होम बहादुर पराजुलीले जनशक्तिसँगै प्रविधिको प्रयोग मार्फत जिल्लाभित्र हुने अपराधिक क्रियाकलापको निगरानी गर्दै आएको बताए । उनले रामेछाप न्युजसँग भने,‘रामेछापको अधिकाशं नाकाहरुमा सिसी क्यामेरा जडान भएको छ, जिल्लाभित्र अब अपराध गरेर उम्किने अवस्था छैन् ।’

सिसी क्यामेरा मार्फत मन्थलीसहित विभिन्न क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधिको बारेमा समेत निगरानी गर्दै आएको बताउदै उनले चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सिसी क्यामेरा सहयोगी बन्दै आएको बताए । हामी स्थानीय तहको सहकार्यमा अझै सिसी क्यामेरोको संख्या बढाउने गृहकार्य गरिरहेका छौ, सिसी क्यामेरा जडान गर्ने कार्यमा स्थानीय तहको भूमिका राम्रो बन्दै गएको छ,डिएसपी पराजुलीले भने ।
प्रहरीले बजार क्षेत्रसहित अन्य सडकमा तीब्र गतिमा सवारी सञ्चालन गर्ने चालकहरुलाई समेत सिसी क्यामेराको फुटेजको आधारमा कारवाही समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्