अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न लागेका रामेछापका पाण्डेलाई महजोडीद्धारा राष्ट्रिय झण्डा हस्तान्तरण



६ कार्तिक, काठमाडौं ।
सातवटै महादेशका उच्च हिमशिखरको आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो आरोहण गर्न जान लागेका पर्वतारोही प्रकाशराज पाण्डेलाई हास्यकलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर बिदाई गरेका छन् । पाण्डे उक्त आरोहणका लागि कार्तिक ८ गते अफ्रिकाको तान्जेनिया तर्फ जाँदै छन् । तान्जेनियामा रहको सो शिखर ५ हजार ८ सय ९५ मिटर अग्लो रहेको छ । जुन अफ्रिकाकै सबैभन्दा अग्लो चुचुरो हो ।

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका पाण्डेले गत जुन २८ र २९ तारिखमा ककेशश हिमशृङ्खलामा पर्ने युरोपको सबैभन्दा अग्लो चुचुरो एलब्रस हिमाल पनि आरोहण गरिसकेका छन् ।

रामेछापको लिखु तामाकोसी गाउँपालिका–७ तिल पुङमा जन्मिएका ३१ वर्षीय पाण्डेले सन् २०१८ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । यस अघि सन् २०१६ मा आइसल्याण्ड पिक आरोहण गरेका पाण्डेले २०१७ मा दुई पटक स्काउट पिक आरोहण गरिसकेका छन् । उनले २०१८ मा नेपालकै आमादब्लम हिमाल आरोहण गरेका थिए । सगरमाथा आरोहण पछि सन् २०१९ मा पाण्डेले किलर माउण्टेन भनेर चिनिने मनास्लु हिमाल आरोहण गरेका छन् । उनले हालसम्म विभिन्न नौ वटा हिमाल आरोहण गरेका छन् ।
पाण्डेले एक वर्ष भित्र विश्वका सातैवटा महादेशका उच्च शिखर चढेर स्वदेश फर्किएपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रो पटक आरोहण गर्ने योजना रहेको रामेछाप न्युजलाई बताए ।

प्रतिक्रिया दिनुहोस्