बेतालीबाट मन्थली आउदा बढी भाडा लिने बसमाथि ट्राफिक प्रहरीको कारवाही



१३ कात्तिक, रामेछाप ।
रामेछाप जिल्लाभित्र निर्धारित भाडादर भन्दा बढी भाडा लिने सवारी साधनमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले कारवाही सुरु गरेको छ । सरकारकाले निर्धारण गरेको भाडा भन्दा यात्रुसँग बढी भाडा लिने एक वसका चालकलाई आज ट्राफिक प्रहरीले कारवाही गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिकाको बेतालीबाट काठमाडौंतर्फ जान लागेको बा.प्र. ०१–००६ ख ५३४९ नम्बरको अरनिको बसले एक यात्रुसँग बढी भाडा लिएपछि प्रहरी कार्यालयमा खबर रहेका थिए ।

लगत्तै ट्राफिक प्रहरीले उक्त बसलाई सेलेघाटमा रोकेर सोधपुछ गर्ने क्रममा बढी लिएको पाइएपछि सो भाडा सम्बन्धित यात्रुलाई फिर्ता गराएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख दीपक चौलागाईले साढे दुई सय भाडा भएपनि तीन सय भाडा लिएको पाइएपछि बढी भाडा फिर्ता गर्दै बसलाई दुई हजार जरिवाना गरिएको जानकारी दिए । उनले जिल्लाभित्र बढी भाडा लिएको अवस्थामा तत्काल ट्राफिक प्रहरी कार्यालय रामेछापको ९८५४०२२२५६ मा सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्